बिक्रम कुमार बि.क.सुर्खेत । दक्षिण कोरियामा यतिबेला महान् पर्व छुसकको रौनक छाएको छ । रोजगारका लागि इपिएस प्रा.लि.मार्फत कोरिया पुगेका नेपाली दाजुभाई एकआपसमा जमघट भई खुसी साटासाट गर्दै छुसकलाई मनाई रहेका छन् । प्राचीन हान्गावी नामले परिचित छुसकलाई कोरियावासिको सवैभन्दा ठुलो पर्व समेत मानिन्छ । नेपालाका हिन्दु धर्मालम्बीहरुले मनाउने महान पर्व वडादशै जस्तै कोरियामा छुसक पर्वलाई वर्षे तथा मुख्य खाद्यान्न बालीनाली भित्र्याए लगत्तै मनाइने गरिन्छ । छुसक लुनार क्यालेन्डर अनुसार आठौ महिनाको पन्ध्रौ दिनमा मनाइने गरिन्छ ।
छुसक सेप्टेम्बर महिनाको १५ तारिखमा ‘हान्गावी’ भनेर पनि भनिन्छ । छुसकमा चिहानमा फूलपाती चढाइन्छ र पुर्खा पुजा गरिन्छ, छुसकमा ताजा भित्र्याइएको चामलद्वारा भात पकाएर सोङफ्यन बनाएर खाइन्छ । यस्तै, रातमा पुर्ण चन्द्रमालाई हेर्दै सुस्वास्थ्य, दिर्घायुको कामना समेत गरिन्छ ।
छुसकको अवसरमा सरकारले तीन दिनको सार्वजानिक विदा दिने गरेको र कोरियन परिवारले आफ्नो पुर्खेली गाउँ तथा घरमा जाने, पारिवारिक जमघट हुने र पराम्परागत मिठा मिठा परिकार खाएर खुसी साटासाट गर्ने प्रचलन रहेको राजगारका लागि कोरिया पुगेका गुराँस–३, दैलेखका प्रेम बहादुर विश्वकर्माले जानकारी दिए । ‘यस पर्वमा कोरियाली तथा कोरियामा रोजगार गर्दै आएका नेपालीलगायत विभिन्न विदेशी कामदारहरुले एकआपसमा जमघट भई खुसी साटासाट गर्दै मनाइन्छ’ उनले भने ।
आप्नो देशमा दशै, तिहारजस्ता महान पर्व आउदै गर्दा कर्मथलोमा रोजगारका लागि आउनुभएका नेपाली दाजुभाईहरु लाई एकै ठाउँमा भेट गराई दुःख–सुख आदान प्रदानको माध्यमको रुपमा छुसकलाई लिएको गुराँस–३, दैलेख घर भई कोरियामा रोजगार गर्दै आएका लोकेन्द्र विसीले बताएका छन् ।
यस्तै, छुसक जस्ता चाडपर्वमा जन्नभुमीबाट टाढा भएपनि आफन्त दाजुभाईसँग भेट हुने हुँदा आफु आफ्नै देशमा भएको अनुभव भएको हाल कोरियामा रोजगार गर्दै आएका गुराँस–३, दैलेखका दिपेन्द्र शर्माले बताए । उनका अनुसार छुसकको राती चन्द्रमाको मुनि महिलाहरु हात समातेर गीत गाउँदै वरिपरि गोलो घेरा बनाइ घुम्ने खेल ‘खाङगाङसुल्ले’ खेल्ने र विभिन्न स्थानीय परिकारहरुको साथ रमाउने प्रचलन रहेको छ ।
छुसकमा खाइने मुख्य खानाको परिकारहरुः
सोङफ्यानः छुसक पर्वमा पकाइने मुख्य परिकार मध्ये एक सोङफ्यान हो । जसमा विभिन्न गेडागुडी जस्तै दाल चिनी, कालो सिमी लगायतक ओखर, कटुस, र मह पनि मिसाएर पकाउने गरिन्छ ।
बुल्खोगीः बुल्खोगी मासु आगोमा पोलेर बनाइने स्वादिष्ट परिकार हो ।
छाप्जेफाबः यो पनि कोरियामा प्रचलित स्वादिष्ट परिकार हो । यो लगायत छुसकमा पेय पदार्थ र मादक पदार्थहरु सोजु (कोरियामा प्रचिलित रक्सी), मेक्जु (कोरियन बियर) र विभिन्न प्रकार वाइन पिउने गरिन्छ ।
हाङवाः छुसकमा कोरियनले खाने अर्को परिकार हो, हाङ्वा । प्राकृतिक रंग र ढाँचाबाट बनाइने यो परिकार चामलको पिठो, मह, फलफुल र गेडागुडीको उमारेर बनाइएका जराबाट बनाइन्छ । यो स्पेशल खाना छुसक बाहेक अन्य उत्सव विवाह, जन्मोत्सव लगायतका उत्सव पार्टीमा पनि खाने गरिन्छ ।
पछिल्लो समय दक्षिण कोरियाले नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको संख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८ सय ४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ ।
दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार ६ सय ३५ जना सहभागी भएका छन् । सोही अवधिमा चार हजार ७०५ जना नेपाली श्रमिक कोरिया गएका छन् ।
दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट श्रमिक लैजाने प्रक्रिया अघि बढाएको छ । इपिएस प्रणालीबाट १६ वटा देशबाट श्रमिक लैजाने गरेको दक्षिण कोरियाले यस अन्तर्गत सबैभन्दा धेरै श्रमिक नेपालबाट छनोट गरिरहेको छ । इपिएसमार्फत आवेदन दिएका सबै आवेदकको भाषा परीक्षा कारियाली प्रतिनिधिको सहभागितामा हुने गरेको छ ।
नेपालीरैबार । २०८१ भाद्र ३१, सोमबार