रेडियो सञ्चालन गर्ने मध्यपश्चिम विश्वविद्यालयको योजना अलपत्र

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले आम सञ्चार अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रमा राखेर अघि सारेको रेडियो (एफएम) स्थापनाको योजनाले अहिलेसम्म पनि पुर्णता पाउन सकेको छैन । आर्थिक वर्ष ०७३/०७४ बाट नै स्थापनाको तयारी भएपनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको हो । बरु बनाइएका संरचनाहरु जीर्ण हुनुका साथै रेडियो टावर, इक्युमेन्टहरु प्रयोगमा नआएर नै खिया लाग्न थालिसकेका छन् । अहिले टावर ढल्किएको अवस्था छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर कुइनेपानीको पश्चिमतर्फ रेडियो स्थापनाको काम अघि बढेको थियो । विश्वविद्यालयका तत्कालीन रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल भन्छन्, ‘मेरो कार्यकालमा, मेरै पहलमा रेडियो स्थापना गर्ने भनेर काम अघि बढेको हो । हामीले स्थापनाको लागि स्वीकृती समेत ल्याइसकेका थियौं ।’

उनका अनुसार त्यो बेला एक वर्षमै स्थापना गर्ने लक्ष्यका साथ काम अघि बढेको थियो । स्टेसनका लागि जग खन्ने काम भइसकेको थियो भने अन्य इक्युमेन्टहरु पनि खरिद भइसकेका थिए । आफु बाहिरीएपछि उक्त कामले निरन्तरता नपाएको मल्लको भनाइ छ ।

त्यो बेला रेडियोका इक्युमेन्टदेखि रेडियो सञ्चालनका लागि करिब दुई करोडसम्मको लगानी भएको थियो । मल्लका अनुसार आम सञ्चारका विद्यार्थीलाई अध्ययन सजिलो होस् भन्ने उद्देश्यका साथ आफ्नै रेडियो सञ्चालनमा ल्याउने काम भएको हो । साथै विश्वविद्यालयका समर्ग सुचना तथा जानकारीहरुलाई आफ्नो रेडियो (एफएम) बाट प्रसारण गर्न सजिलोका लागि पनि उक्त योजना अघि बढाइएको उनले बताए । यस्तै पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरुलाई ल्याबको काम गर्नका लागि सजिलो होस् भन्ने थियो ।

त्यसपछि टावर निर्माणको काम र ट्रायल गर्ने काम भएपनि रेडियो सञ्चालनका लागि पछिल्लो नेतृत्वको खासै चासो दिएन । जसका कारण अहिलेसम्म पुर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । रेडियोको छुट्टै भवन निर्माणका लागि समेत बजेट विनियोजन गरिएको थियो । तर पछिल्लो नेतृत्वको प्राथमिकतामा उक्त काम नगर्दा नै योजना अलपत्र परेको मल्ल बताउँछन् ।

विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. नारायण प्रसाद पौडेलले उक्त कामलाई पुर्णता दिन नसकिएको बताउँछन् । ‘सञ्चालनका लागि हामी प्रस्ताव लिएर सञ्चार मन्त्रालयमा पनि पुगेका थियौँ तर भएन,’उनले भने, ‘धाउँदा–धाउँदा हैरान भइयो तर सञ्चार मन्त्रालयबाट कोही आएर हेरेर निर्णय गरिदिएनन् ।

उनका अनुसार रेडियोको ट्रायल गर्ने काम भने भएको थियो । त्यसपछि रिन्यु गर्नुपर्ने भयो । तर रिन्यु गर्ने क्रममा चाहिने भन्दा धेरै रकम माग भएपछि काम रोकिएको पौडेलले बताए । ‘हामीले केही सस्तो गरिदिनुहोस् भनेर पनि भन्यौँ,’पौडेल भन्छन्, ‘तर गरिदिएनन् ।’

तपाईको प्रतिक्रिया