अन्तर्वार्ता

‘स्वतन्त्र रुपमा न्याय निरुपण गरिरहेको छु’

नेपालको संविधानको भाग १७ को धारा २१७ मा देहायबमोजिमको कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरूपण गर्न स्थानीय तहका उपाध्यक्षको संयोजकत्वमामा तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था गरिएको छ । त्यसैलाई न्यायिक समिति भनिन्छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने गर्दछ ।

न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्दछन् । गाउँपालिका तथा नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नु पर्ने व्यवस्था गरिएको छ । यद्यपि स्थानीय तहका न्यायिक समितिहरु प्रभावकारी रुपमा काम गर्न नसकिरहेको आरोप लाग्ने गरेको छ । नेपाली रैबारका समाचारदाताले यसै सन्दर्शमा रहेर दैलेखको गुराँस गाउँपालिकाकी उपाध्यक्ष शिवा कुमारी खड्कासँग कुराकानी गरेका छन् ।

प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादिक अंश ः

तपाईं उपाध्यक्ष भएको अढाई वर्ष भयो, उपाध्यक्ष र न्यायिक समितिमा तपाईंको अनुभव कस्तो रह्यो ?

उपाध्यक्षसँगै न्यायिक समितिको उपाध्यक्ष भएर काम गर्नु मैले अवसरका रुपमा लिएको थिएँ । सोही अनुसार काम गरिरहेको छु । यो अवस्थामा न्यायिक समितिलाई प्रभावकारी बनाउन विभिन्न कानुन बनाउने क्रम जारी छ । खुल्ला इजलास बनाउने काम भइरहेको छ ।

स्थानीय तहमा महिलालाई उपाध्यक्षमा मात्रै थन्काईयो, त्यसमा पनि उपाध्यक्षलाई दिएको अधिकारमा पनि प्रमुख हावी हुन्छन् भन्ने आरोप छ, तपाईंको हकमा यस्तो भयो ?

त्यो धारणासँग म सहमत छैन । उपाध्यक्ष पद आफैमा सशक्त पद हो र यसका काम, कर्तव्य तथा अधिकारहरु संविधानमै प्रष्ट खुलाइएको छ । हामीले संविधानले गरेको व्यवस्थामा रहेर कामकारबाही गर्ने हो । मेरो हकमा उपाध्यक्षको अधिकारीमाथि अध्यक्षको हस्तक्षेप हुने जस्ता काम भएका छैनन् ।

विभिन्न समितिको संयोजक भएरपनि हामी सबै समन्वकारी भूमिकामा काम गरिरहेका हुन्छौँ । म गुराँस गाउँपालिकाको उपाध्यक्ष भइरहँदा अनुगमन, न्यायिक समितिको संयोजक मात्रै नभई यहाँका हरेक महत्वपुर्ण निर्णय, विकासे कामहरुमा पनि प्रत्यक्ष भूमिका रहेको छ । कामकारबाहीको सिलसिलामा अध्यक्ष म माथि हावी भएको पाइँदैन । पालिकामा हुने हरेक नीति, नियम, निर्णयमा हामी मिलेर नै गर्छौँ । सबैको सरसल्लाह, आपसी समन्वयका माध्यमबाट नै पालिका समृद्ध बन्ने हो, त्यो कुरामा हामी सबै सचेत छौँ ।

भनेपछि संविधानले जुन अधिकार दिएको छ, त्यो अधिकार प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ ?

एमदमै, म आफ्नो काम, कर्तव्य र अधिकारभित्र रहेर स्वत्रन्त्र रुपमा काम गरिरहेको छु । अध्यक्षले हेप्ने, हावी हुने भन्ने छैन । बरु हामी सबै गतिविधिहरु समन्वयका माध्यमबाट गरिरहेका छौँ ।

तपाईं उपाध्यक्ष भएर आइसकेपछि अहिलेसम्म न्यायिक समितिमा कतिवटा मुद्दाहरु आए र तीनको अवस्था के छ ?

मेरो पहिलो योजना नै, न्यायिक समितिको इजलास बनाउने भन्ने थियो । त्यो काम गरिसकेको छु । म निर्वाचित भएर आउँदा न्यायिक समितिमा एउटा माइन्युट बाहेक अरु केही थिएन । त्यसमा जम्मा दुईवटा बैठकका निर्णय मात्रै थिए । त्यसपछि हामीले कसरी न्यायिक समितिलाई सबलिकरण गर्न सकिन्छ भनेर छलफल चलायौँ । ऐन नभएसम्म केही गर्न सकिँदैन भन्ने निष्कर्ष आयो । त्यसपछि न्यायिक समिति ऐन बनाएर अहिले लागु गरिसकेका छौँ । न्यायिक समितिका कामकारबाही गर्न सजिलो होस् भने हामीले गुराँस गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी उजुरी प्रशासक राखेका छौँ ।

सबै कुरा त उपाध्यक्षलाई जानकारी हुँदैन । त्यो भएकाले उजुरी प्रशासकको सामान्य दरबन्दी सिर्जना गरेर राखिएको हो । अहिले उजुरी प्रशासक र न्यायिक समिति मिलेर कामकारबाही गरिरहेका छौँ र, निकै सहज भएको छ । न्यायिक समितिमा ०७९/०८० मा ५९ वटा मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ४४ फस्र्यौट गरेका थियौँ । फस्र्यौट भएकामध्ये १५ मेलमिलापका माध्यमबाट र बाँकी निर्णय गरेर कार्यान्वयनका लागि अगाडि बढायौँ । चालु आर्थिक वर्षमा अहिलेसम्म ३३ वटा उजुरी आएको र २४ फस्र्यौट भइसकेका छन् । कुनै विवाद आएको खण्डमा हामीले घुम्ति इजलास पनि चलाउने गरेका छौँ । वडा–वडामा पुगेर घुम्ति इजलास चलाउछौँ र वडाका भएका सानातिना विवादहरु त्यही गएर निरुपण गर्ने गरेका छौँ ।

मुद्दाहरु कस्तो प्रकृतिका आउँछन्, गाउँपालिकामा ?

हामीले हाम्रो कार्यक्षेत्रभित्र के–के मुद्दाहरु पर्छन्, हेरेर मात्र दर्ता गर्ने गरेका छौँ । क्षेत्राधिकारभित्र नपर्नेलाई दरपिट गरेर पठाउछौँ । आउने मुद्दाहरुमा घरेलु झै–झगडा, लेनदेन, कुलो, बाटो विवाद यस्तै यस्तै त हुन, गाउँघरमा ।

बाल विवाहको विषयमा धेरै कुराहरु आउँछन्, यहाँको पालिकामा कस्तो छ र न्यूनीकरणमा के काम भइरहेको छ ?

बाल विवाह भइरहेकै छ । बाल विवाह न्यूनीकरण गर्छु भन्ने मेरो सुरुदेखिको योजना पनि हो । अहिले गाउँमा बाल विवाह भएको खण्डमा हामीलाई सिधै फोन आउँछ, हामी त्यही अनुसार गएर उनीहरुलाई सम्झाउने गरेका छौँ । अध्ययनलाई अगाडि बढाउनुहोस्, सीप विकासमा काम गर्नुहोस् भन्छौँ, गाउँपालिकाले त्यसैलाई मध्यनजर गर्दै ‘उपाध्यक्षको ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ भन्ने कार्यक्रम लागु गरिएको छ, यहाँ ।

छात्रवृत्ति र सीप विकासका गतिविधिहरु अघि बढाएका छौँ । गत वर्ष हामीले ११ जनालाई छात्रवृत्ति वितरण गरेका छौँ । अघिल्लो वर्ष कार्यविधि नभएर कार्यक्रम लागु गर्न केही कठिनाइ भएको थियो, यो वर्ष कार्यविधि बनाएर नै कार्यान्वयन गरेका छौँ । उनीहरु खुसी छन्, बेलाबेला सम्पर्क भइरहन्छ ।

अन्तमा तपाईँहरुको कार्यकालमा गुराँसलाई कस्तो गाउँपालिकाको रुपमा विकास गर्दै हुनुहुन्छ ?

यो निकै सम्भावना भएको पालिका हो । कर्णालीमा हाम्रो जत्तिको भूगोल, हावापानी मिलेको स्थानीय तह निकै कम छन् ।
हामीले आज–आर्जनसँग जोडेर स्वरोजगारमुखी, आन्मनिर्भरमुखी गाउँपालिकाका रुपमा विकास गर्ने प्रयत्न भइरहेको छ । ‘एक घर, एक धारा’ अभियान चलाइरहेका छौँ । ‘एक घर, एक व्यवसायी’ कार्यक्रम पनि लागु भइरहेको छ । हाम्रो कार्यकालभर आत्मनिर्भर गुराँस हुने अपेक्षा छ ।

 

तपाईको प्रतिक्रिया