सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवाद अदालतले सुल्झाएको छ । विद्युत लाइन प्रशारणको शुरुवाती विन्दु बाँकेको बानियाभार क्षेत्रको विवाद अदालत पुगेको थियो । टावर निर्माण गर्ने क्षेत्रमा जग्गा अधिकरणको विषयमा विवाद बढेपछि स्थानीयले उचित मुआब्जाको माग राख्दै गत जेठमा उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा दर्ता गराएका थिए ।
अदालतका न्यायाधीसद्वय पुनम सिंह चन्द र श्यामजी प्रधानको संयुक्त इजलासले माग दावी पुग्न नसक्ने भन्दै रिट निवेदन खारेज गरेको उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जका निमित्त रजिष्ट्रार सरोजनिधि वाग्लले जानकारी दिए । रिट अदालतले खारेज गरेपछि विद्युत प्रशारण लाइन निर्माणको काममा अवरोध गर्न नमिल्ने वाग्लले बताए । विद्युत पोलको फाण्डेशन निर्माणमा स्थानीयले अवरोध गरेपछि विवाद अदालत पुगेको थियो ।
अदालतले नै विवाद किनारा लगाइदिएपछि निर्माण प्रक्रिया शुरु गर्ने तयारी गरिरहेको छ । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रवि चौधरीका अनुसार अदालतले रिट खारेज गरेकाले पूर्णपाठको पर्खाइमा आफूहरु रहेको बताए ।
केहीदिनमा पूर्णपाठ अदालतले उपलव्ध गराउने भएकाले त्यो बेलासम्म थप काम अघि नबढ्ने चौधरीले बताए । ‘विवाद अदालतले सुल्झाइदिएको मात्रै हो, फैसलामा के समावेश छ हेरर हामी अघि बढ्छौं, उनले भने, । विषेश गरि गर्मी महिनामा विद्युतको लो भोल्टेजले लामो समयदेखी सुर्खेत सहित कर्णाली प्रदेशका नागरिकहरु आजित भएका छन् । प्रयाप्त विद्युतको भोल्टेज नआउँदा गर्मी सिजनमा पंखा नचल्दा सास्ती व्यहोर्नु पर्दा नागरिक दुखी छन् । यस्तै उद्योग स्थापना गरेर आम्दानी गर्ने सोचमा रहेका व्यवसायीहरुले उद्योग नै सञ्चालन गर्न सकेका छैनन् ।
लामो समयदेखी कोहलपुर–सुर्खेत १३२ केभी विद्युतको प्रशारण लाइन निर्माणको कामले अपेक्षाकृत प्रगति नलिँदा कर्णालीबासीमा झनै निराशा छाएको थियो । ३६ वर्ष पहिला निर्माण गरेको पुरानै विद्युतका संरचनाले सुर्खेत मात्रै हैन कर्णाली प्रदेशमै विद्युत विस्तार भएका जिल्लाका नागरिकहरुले लो भोल्टेजको समस्या झेलिरहेका छन् ।

नेपालीरैबार । २०८१ आश्विन १७, बिहीबार