काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवर सहकारी ठगीमा फरार जीबी राईका पनि कानूनी सल्लाहकार भएको खुलेको छ । उनले गोर्खा मिडियामा मासिक तलब नै खाएर राईलाई कानूनी सल्लाह दिने गरेका थिए ।
हाइप्रोफाइल वकिलको परिचय बनाएका कुँवर हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरका साख्खै दाइ पनि हुन् । कांग्रेस पृष्ठभूमिका उनको प्रहरीदेखि राजनीतिक दलसम्म पहुँच र प्रभाव बलियो छ । त्यसैले उनलाई लाभको पदको कहिल्यै कमी भएन ।
अर्घाखाँचीका स्थायी बासिन्दा कुँवर कांग्रेसनिकट कानून व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्वअध्यक्ष हुन् । २०७० सालमा तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा उनलाई महान्यायाधिवक्ता बनाएका थिए । यसैगरी २०७४ सालमा उनी गण्डकी प्रदेश (तत्कालीन प्रदेश ४० को प्रमुख नियुक्त भए । जीबी राई नेटवर्क विजनेसमा हुँदादेखि नै उनको कोर टीममा थिए कुँवर ।
नेचर हर्ब्स नामक कम्पनीमा राईले उनलाई कानूनी सल्लाहकार बनाएका थिए । त्यसयता उनले निरन्तर राईलाई साथ दिइरहे । राईका हरेक मुद्दामा कुँवरले नै बहस गर्ने गरेका छन् । गोर्खा मिडियाको स्थापनादेखि र आर्थिक स्रोत व्यवस्थापनसम्मका हरेक विषयमा राईले कुँवरसित सल्लाह लिने गरेका थिए ।
‘सहकारीबाट पैसा ल्याएर गोखा मिडियामा हाल्ने सम्पूर्ण प्रक्रियामा कानूनी पाटोबाट उहाँले नै जिम्मेवारी लिनुभएको थियो’, गोर्खा मिडियाका एक पूर्वकर्मचारी भन्छन् ।
सहकारी ठगीसम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिले कुँवरलाई बयानसम्ममा तानेन । अहिले उनलाई प्रहरीदेखि राजनीतिक नेताहरुसम्मले संरक्षण गरिरहेको रास्वपा नेताहरु बताउँछन् ।
पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘प्रहरीले जफत गरेको गोर्खा मिडियासँग सम्बन्धित हार्ड डिस्कबाट समेत कुँवरको नाम हटाइएको हामीले सूचना पाएका छौं ।
आज पोखरामा रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले समेत कुँवरको नाम लिएका थिए । उनले कुँवरलाई छानबिनमा तान्न सरकारलाई चुनौतीसमेत दिए ।
‘विगतमा गोर्खा मिडियाका सल्लाहकार रहनुभएका बाबुराम कुँवर अहिले राष्ट्रपतिज्यूका कानूनी सल्लाहकार हुनुहुन्छ । यो सरकारले उहाँलाई छानबिनमा तान्नसक्छ ?’, उनले भने ।
स्रोतका अनुसार जीबी राई फरार नहुँदासम्म उनीसँग निकट थिए कुँवर । २०७९ साल चैतमा राष्ट्रपतिले उनलाई आफ्नो कानूनी सल्लाहकार नियुक्त गरेका हुन्, जतिबेला उनी गोर्खा मिडियाका समेत सल्लाहकार थिए । जीबी राई फरार भएपछि मात्रै उनी सो संस्थाबाट अलग भएका हुन् ।
#nepalpress
नेपालीरैबार । २०८१ कार्तिक ६, मंगलवार