
सुर्खेत। वीरेन्द्रनगर १४ गढीका स्थानीयले भोगिरहेको खानेपानी संकट र यसले निम्त्याएका बहुआयामिक असरहरुबारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। कर्णाली प्रदेशसभा सचिवालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) संसद सहयोग परियोजनासँगको सहकार्यमा ऋति फाउण्डेसनले गढीमा बुधवार सार्वजनिक सुनुवाई आयोजना गरेको हो।
साबिक गढी गाबिसमा पर्ने उक्त क्षेत्र हाल वीरेन्द्रनगर नगरपालिका १४ मा पर्छ। पर्यटन, होटल व्यवसाय, कृषि र पशुपालनको सम्भावना रहेको भएपनि उक्त क्षेत्रले विगतदेखि नै खानेपानी संकट भोग्दै आएको छ। कार्यक्रममा बोल्दै वीरेन्द्रनगर १४ का वडा अध्यक्ष देवबहादुर रोकायले त्यस क्षेत्रमा पानीको चरम अभाव रहेको र त्यो समस्या धेरै पुरानो भएको बताए। उनले भने, यो क्षेत्र कुनै समय सुर्खेतका सदरमुकाम थियो, तर अहिले यहाँका स्थानीय पानी अभावको समस्याबाट आजित छन्।
स्थानीय बासिन्दाका अनुसार, गढीमा लगभग ६४० घरधुरी छन्, तर मात्र करिब २०० धाराहरुबाट पानी वितरण हुन्छ। ती धाराहरूमा पनि हप्तौंसम्म पानी नआउने समस्या छ। एक स्थानीयले भने, ूहामीले १७ दिनसम्म लगातार पानीको आपूर्ति बन्द भएको समयसमेत भोगेका छौं, जसले हाम्रो जनजीवनलाई निकै कठिन बनाएको छ। पानीको समस्या समाधानका लागि बजेटको कमी छ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सांसदहरुले स्थानीय स्तरमा पानीको समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए। प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेलले स्थानीयहरुबाट आएका कुनै पनि मुद्दा प्रदेशसभामा उठाउन सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिष्टले गढीको खानेपानीको समस्या समाधान गर्नुअघि अनुसन्धानको आवश्यकता रहेको बताए। उनले स्थानीय र वडा कार्यालयले नगरपालिकासँग समन्वय गरेर एक प्रतिनिधिमण्डल गठन गर्नुपर्ने सुझाव समेत दिए।
वीरेन्द्रनगर १४ गढीमा खानेपानीको अभावले होटल व्यवसाय र पशुपालनमा पारेको प्रभाव, बसाइँसराइ, र स्थानीय अर्थतन्त्रमा परेको नकारात्मक असर नीति निर्माताहरुलाई जानकारी गराउने लक्ष्य सार्वजनिक सुनुवाईको थियो। पानीको व्यवस्थापन र समुचित उपयोगमा सुधार ल्याई बसाइँसराइको समस्यालाई सम्बोधन गर्ने ठोस कदम चाल्नका लागि समुदाय, नीति निर्माताहरु, र सरोकारवालाहरुबीच सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा ५० जना स्थानीयहरुको सहभागिता रहेको थियो।

नेपालीरैबार । २०८१ कार्तिक ७, बुधबार