सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गैरसरकारी संस्थाहरुले आफुहरुलाई पारदर्शी राख्नुपर्ने बताएका छन् । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) को २५ वार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री कँडेलले सार्वजनिक संस्थाहरु पारदर्शी हुनुपर्ने बताएका हुन् ।
‘सार्वजनिक संस्था टिक्ने हो भने आफुलाई पारदर्शी राख्नुपर्छ,’ उनले भने, ‘विकास र परिवर्तनका लागि सबैको अनुभति हुने गरि छलफल गर्नुपर्छ ।’ कर्णालीले सबै क्षेत्रमा फड्को मारेको भएपनि सार्वजनिक रुपमा नागरिकले महसुश नगरेकोप्रति ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले बताए । सरकारी तथा गैरसरकारी संस्थाहरुका संरचना, उद्देश्य, बजेट तथा ध्येय एउटै हुने तर, काम गर्ने बेलामा एक्लाएक्लै हिँडेर गन्तव्यमा पुग्न नसकिने मुख्यमन्त्री कँडेलले बताए ।
‘जुन अवस्थामा समन्वय हुनुपर्ने हो । तर, त्यो भएको छैन् । पछउटे समुदाय भएकाले पनि हो कि उद्देश्य र गतब्य एउटै भएपनि एक्लै हिड्ने परिपाटी बनेको छ,’ उनले भने, ‘अहिले होडबाजी र प्रतिपस्र्धाले जनताले परिवर्तनको अनुभुति गर्न पाएका छैनन् ।’ अधिकार प्राप्तिको युग समाप्त भएकाले अब आर्थिक समृद्धिसहितको समाज निर्माणगर्नतर्फ सबैले हातेमालो गर्नुपर्ने उनले बताए ।
यस्तै, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीबाट जन्मेको किडार्क नेपाललाई अन्र्तराष्ट्रियस्तरमा काम गर्न सक्ने बनाउनुपर्ने बताए । ‘कर्णालीको बजेटभन्दा बढी बजेट कर्णालीका गैरसरकारी संस्थाहरुसँग छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहकार्य गरेर अगाडी बढ्न जरुरी रहेको छ । यसमा हामी गैरसरकारी संस्थाहरुलाई खुलेर सहयोग गर्न तयार छौं । कर्णाली समृद्धिका योजनाहरुका बारेमा गहन छलफल गरौं । आवश्यकता पहिचाहन गरौं । सँगै मिलेर लगानी गरौं । अनि मात्रै हाम्रा प्रयासहरु सार्थक बन्छन् ।’
नेपालीरैबार । २०८१ कार्तिक ९, शुक्रबार