वामको सामाजिक परीक्षण वीरेन्द्रनगरमा सम्पन्न

सुर्खेत । सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) को सामाजिक परीक्षण सम्पन्न भएको छ । संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालन गरेका कार्यक्रमहरुको सोमबार वीरेन्द्रनगरमा सामाजिक परीक्षण सम्पन्न गरेको हो । सामाजिक परीक्षणका क्रममा सहजकर्ता गोविन्द खत्रीले अध्ययन, अनुगमन,अन्तरक्रियाबाट संलन गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा संस्थाले सञ्चालन गरेका क्रियाकलापका सवल पक्ष र सुधारात्मक पक्षहरु समावेश गरिएको थियो । संस्थाले सञ्चालन गरेका परियोजनाबाट सामुदायिक सुरक्षा जालो संजालहरु स्वं सेवा, टोल, समुदायमा फोहोरमैला व्यवस्थापन, वृक्षारोपण लगायतका क्रियाकलापमा सक्रिय भएको, मनोसामाजिक हेरचाहा तालिमले जीवनमा सकरात्मक सोच विकास हुनुका साथै समुदाय स्तरमा मनोसामाजिक समस्या समाधानका लागि चासो दिन थालेको साथै प्राकृतिक विपतको पूर्व तयारी, प्रतिकार्यका साथै साबधानीहरुबारे जानकारी लिई आफ्नो जिवनमा लागू गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै बित्तिय साक्षरता कक्षामा सहभागीहरुले आफ्नो जीवनमा वित्तिय अनुसाशन कायम गरी आफ्नो र आफ्नो परिवारको फजुल खर्चमा नियन्त्रण गरी बचत गर्न थालेको, दैलेख र बैतडीका केही युवाले तेस्रो पक्षीय बित्तीय सहयोग र केहीले आफ्नै लगानीमा व्यवसाय सञ्चालन गरी आम्दानी लिएका छन् । बिद्यालय स्तरमा मनोसामाजिक हेरचाहा र लागुऔषध दुव्र्यसनी, सुरक्षित गर्भपन सम्बन्धि अभिमुखिकरणले सचेतना अभिबृद्धि भइ विधार्थीहरु सकरात्मक बाटोमा हिडेको जनाइएको छ ।

यस्तै संस्थाले आगामी दिनमा सुधार गर्नुपर्ने पक्षमा सामुदायिक सुरक्षा जालो संजाललाई अझै सक्रिय बनाउनुपर्ने, विभिन्न तहका विपत व्यवस्थापन समितिहरुसँग बलियो सम्बन्ध स्थापित गरी पूर्व तयारी कार्यहरुमा सहयोग सहकार्य गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । संस्थाको सहयोगपछि व्यवसाय गरिरहेका युवाहरुले व्यवसाय सञ्चालनसम्बन्धी थप तालिम, अवलोकन भ्रमणको व्यवस्था गर्न सुझाव दिएका छन् । संस्थालाई अभियानात्मक कार्यक्रमलाई बृद्धि गर्न पनि सरोकारवालाहरुले सुझाव दिएका छन् ।

सामाजिक परीक्षणमा कार्यकारी निर्देशक मधुरानी ढकालले संस्थाले सुर्खेत, दैलेख र बैतडी जिल्लाका छ वटा पालिकामा विभिन्न चार वटा परियोजना सञ्चालन गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले परियोजनाका उपलब्धी चुनौति र सिकाई बारेमा प्रस्तुती राख्नुभएको थियो । संस्थाका वित्तिय अधिकृत विजय चन्दले संस्थाले गत आर्थिक बर्षमा गरेको आर्थिक कारोबार बारे जानकारी गराउनुभएको थियो ।

छलफलका क्रममा सहभागीहरुले संस्थाले आगामी दिनमा आय आर्जनमूलक क्रियाकलापबाट महिलाहरुको सशक्तीकरणका कार्यक्रमहरु संचालनमा जोड दिन सुझाव दिएका छन् । संस्थाका अध्यक्ष देवि पौडेलले सहभागी एवं सरोकारवालाहरुले दिएका सुझावलाई आगामी योजना बनाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य डिल्ली प्रसार पाण्डेले सिमान्तकृत महिलाहरुको सशक्तिकरण जरुरी रहेकोमा वामले त्यसका लागि महत्वपवूर्ण योगदान गरेको बताउनुभयो । उहाँले आगामी दिनमा महिलाहरुको आर्थिक सशक्तिकरणमा जोड दिनका सुझाव दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, वीरेन्द्रनगर नगरपालिका, विभिन्न संघ संस्था, पत्रकार, लाभग्राही साथै संस्थाका साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया