दैलेखमा पेट्रोलियम पदार्थ : अन्तिम चरणको ‘ड्रिलिङ’ को काम हुदै

सुर्खेत। दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ को काम भइरहेको छ । अहिले तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । अन्तिम चरणको अन्वेषणको कामका लागि एक वर्ष म्याद थप गरिएको छ ।

नेपाल सरकार खानी तथा भूगर्व विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच अन्तिम चरणको काम सम्पन्न गर्नका लागि एक वर्ष म्याद थप गरिएको हो । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता २०८० फागुनमा सकिएको थियो । २०८१ फागुनसम्म आयोजनाको म्याद थपिएको आयोजनाका सिनियर डिभिजनल जियोलोजिष्ट सुरेश श्रेष्ठले बताए ।

उनका अनुसार थप गरिएको मितिमा नै ‘ड्रिलिङ’ को काम सक्नेगरी तयारी भइरहेको छ । श्रेष्ठले भने, ‘काम रोकिएको छैन, अबको दुई महिनामा ‘ड्रिलिङ’ को काम सक्ने लक्ष्य छ, धेरै काम बाँकी नै छ, एक वर्ष म्याद थप गरिएको हो ।’ आयोजनाले सकेसम्म तोकिएकै मितिमा काम सक्नेगरी तयारी गरिएको जनाएको छ । काममा ढिलाइ हुँदा थप समस्या आउन सक्ने भएकाले तोकिएकै मितिमा काम सम्पन्न गरेर पेट्रोलियम पदार्थ पत्ता लगाइने आयोजनाको भनाइ छ ।

‘ड्रिलिङ’ को काममा ढिलाइ

तोकिएकै मितिमा आयोजनाले काम सम्पन्न गर्ने जनाए पनि ‘ड्रिलिङ’ को काममा भने ढिलाइ भइरहेको छ । वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको हो । ‘ड्रिलिङ’ को काम थालिएको पाँच महिना वित्तिसक्दा पनि अपेक्षित रूपमा भने काम हुन सकिरहेको छैन । मेसिनले जमिन मुनिसम्म खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पुष्टि गर्न लागिएको छ । अहिले अन्तिम चरणको ‘ड्रिलिङ’ को काम भइरहेको हो ।

हालसम्म पेट्रोलियम अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम दुई हजार आठ सय १४ मिटर गहिराइसम्म पुगेको छ । अझै ‘ड्रिलिङ’ को काम सक्न दुई महिना लाग्ने जनाइएको छ । ‘ड्रिलिङ’को काम सक्न अझै दुई महिना लाग्ने आयोजनाका सिनियर डिभिजनल श्रेष्ठले बताए । उनका अनुसार अहिले ‘ड्रिलिङ’ को काम धमाधम भइरहेको छ । आयोजनामा चार हजार पाँच सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे अध्ययन गरिने श्रेष्ठले जानकारी दिए ।

मेसिन उपकरणमा बेला–बेला आउने समस्याका कारण काममा ढिलाई हुनेगरेको उनको भनाइ छ । उपकरण बनाउन बाहिर पठाउनुपर्दा चाररपाँच दिनसम्म काम रोकिने गरेको छ । जसले गर्दा काम सोचे अनुरूप हुननसकिरहेको श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘काममा अन्य अवरोध छैन, मेसिन उपकरण मर्मत गर्दा एकहप्तासम्म समय लाग्ने गरेका कारण काम रोकिने गरेको छ, अहिले भने काम धमाधम भइरहेको छ । हालसम्म दुई हजार आठ सय १४ मिटर गहिराइसम्म खनिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुरूप काम भइरहेको छ । चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो । दैलेखको भैरवी गाउँपालिका वडा नं। १ जलजलेमा अन्वेषण साइट छनोट भएको छ ।

अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ । अबको दुई महिनामा ड्रिलिङ सक्नेगरी काम भइरहेको जनाइएको छ ।

चिनियाँ प्राविधिकको टोलीले २०७६ मा स्थलगत अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अहिले ड्रिलिङमार्फत् पेट्रोलियम पदार्थको अन्वेषणको काम भइरहेको छ ।

२०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जियोलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । यस समझदारी कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (दश महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । कोभिड महामारीका कारण सम्झौता अनुसार काम अगाडि बढ्न सकेन । पछिल्लो समय कामले गति लिएको हो । अन्तिम चरणको काम भइरहेको छ ।

sajhabisaunee ले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया