
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–७, कपासेमा बनभोज खाएर फर्कदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतको छिन्चुबाट बनभोज खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किदै गरेका यात्रु बोकेको कर्णाली प्रदेश ०२–०१ ख ०१८८ नम्बरको फोर्स गाडी नेपाली सेनाको कालिबहादुर गणको मुल गेट नजिकको घुम्तिमा दुर्घटनामा परेको हो ।
बुधबार साँझ भएको उक्त दुर्घटनामा परी २६ जना घाईते भएका छन् । दुर्घटना लगत्तै कालीबहादुर गणबाट सेनानी कौशल कार्की र श्री नं. ४ फि ए गुल्मबाट प्राविधिक सह सेनानी डा. सचित थापाको कमाण्डमा खटिएको सेनाको टोलीले उद्दार गरी थप उपचारका लागि प्रदेश अस्पताल पठाइएको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते २६ मध्ये दुई जनाको अवस्था गम्भीर छ । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

नेपालीरैबार । २०८१ कार्तिक २१, बुधबार