सुर्खेत । नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज कर्णाली याक्सले आफ्नो टोलीको गीत र फेस अफ कर्णाली सार्वजनिक गरेको छ ।
बुधवार एक कार्यक्रम आयोजना गर्दै कर्णाली याक्सले आफ्नो गीत सार्वजनिक गर्दै फेस अफ कर्णालीको रूपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको हो ।
नेपाल प्रिमियर लिगको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । उक्त एनपिएलको लागि कर्णाली याक्सले तयारीमा तीब्रता दिइरहेको छ ।
बुधवार नक्सालमा एक कार्यक्रम आयोजना गर्दै कर्णाली याक्सले कर्णाली क्षेत्रको पहिचान झल्कने किसिमको गीत पनि सार्वजनिक गरेको हो ।
हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीको प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष रहेका सुनिल खनालको शब्द, संगित र स्वरमा गीत तयार पारिएको हो ।
कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थित थिए ।
कर्णाली याक्सका मार्की खेलाडी नेपाली टोलीका फास्ट बलर सोमपाल कामी हुन् । यो टोलीले तीन विदेशी खेलाडी वेस्ट इन्डिजको ब्याटर चाडविक एन्टोनिओ वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ ।
कर्णालीका सहमालिक गृहेन्द्र घिमिरेले थप खेलाडी चाडै सार्वजनिक गरिने जानकारी गराए । कार्यक्रममा नायिका स्वस्तिमाले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन, वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताइन् ।
नेपालीरैबार । २०८१ कार्तिक २२, बिहीबार