सुर्खेत । उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले महावु गाउँपालिकाको अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारीको नाम टुङ्गिएको कांग्रेस दैलेखका सचिव नारायण रेग्मीले जानकारी दिए ।
आज हामीले उम्मेदवारको नाममा निर्णय गरेर केन्द्रमा पठाएका छौँ,’उनले भने, ‘ सम्भावना बोकेका युवा नेता भण्डारी हुनुहुन्छ । यसअघि ०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेसबाट निर्वाचित महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको ०७९ माघ २७ गते हृदयघातका कारण निधन भएको थियो । उनले त्यो बेला एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । गुरुङले २९ सय ९ मत प्राप्त गरेका थिए भने एमालेका उपाध्यायले २५ सय १९ मत प्राप्त गरेका थिए । यस्तै समाजवादीको उम्मेदवारले १३ सय मत प्राप्त गरेका थिए ।
कांग्रेस जिल्ला सचिव रेग्मीले महावुमा कांग्रेसको जनमत राम्रो रहेकोले कांग्रेसले सहजै जित्ने दाबी गरे । उम्मेदवार बनाइएका भण्डारी युवा नेता हुन् । उनी यसअघि पार्टीको जिल्ला समिति सदस्य, नेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यालयका सभापति समेत भइसकेका व्यक्ति हुन् ।
नेपालीरैबार । २०८१ कार्तिक २२, बिहीबार