प्रदेश रङ्गशालाको काम ९७ प्रतिशत,दसौं राष्ट्रिय खेलकुद अब अनिश्चित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशालाको काम अझै सम्पन्न हुन सकेको छैन । १० असोजमै रङ्गशालाको अन्तिम म्याद सकिएपनि अझै ३ प्रतिशतजति काम बाँकी नै रहेको छ । प्रदेश खेलकुद विकास परिषद्का अनुसार हालसम्म ९७ प्रतिशत काम भएको छ । ठेकदार कम्पनीले अहिले अन्तिम चरणको काम गरिरहेको छ भने रङ्गशालामा दुई सय मजदुर र मेसिनले काम गरिरहेका छन् ।

रङ्गशाला

१० हजार दर्शक अट्ने क्षमताको उक्त रङ्गशालामा फ्यासिलिटी भवनको छाना छाउने लगायतका बाहेक सबै कामहरु सम्पन्न भइसकेको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए । रङ्गशालाभित्रका संरचना निकै अत्याधुनिक प्रविधिबाट बनाइएको छ । रङ्गशालामा दुई वटा ठुला गेटहरु बनाइएको छन् ।

एउटा गेट सर्वसाधरणका लागि बनाइएको छ भने भीडभाड नहोस् भनेर भीआईपी गेट अर्को बनाइएको छ । ती गेटहरु निकै कलात्मक ९पञ्चमुख मन्दीर० तरिकाले बनाइएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रतियोगिता सञ्चालन गर्ने गरी फिफाको मापदण्ड अनुसार संरचनाहरु बनाइएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालको भनाइ छ ।

फुटबल मैदान, प्याराफिट, पौडी पोखरी, भलिबल कर्बड हल, एथलेटिक्स ट्रयाक, मार्सल आर्ट इन्डोर हलदेखि आउटडोर हलहरु रहेका छन् । ती संरचनाहरु सबै फिफाको मापदण्ड अनुसार सुविधायुक्त बनाइएको सञ्ज्याल बताउँछन् । उनका अनुसार रङ्गशालाभित्रको फुटबल मैदान १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको बनेको छ । मैदानभित्र सिँचाइका लागि नयाँ प्रविधिको स्प्रिनकल जडान गरिएको छ भने भारी वर्षात् हुँदा २५ मिनेटमै मैदानको पानी सुक्ने गरी व्यवस्था गरिएको छ ।

खेलाडीको सुविधाका लागि वेटिङ कक्ष, रेस्टरुम, फिजियो कक्ष, चेन्जिङ कक्ष, मेडिकल कक्ष लगायतका संरचनाहरु भित्रै बनाइएका छन् । अन्तराष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गने गरी बत्ती जडान गरिएको छ भने व्यवस्थित साउन्डहरु राखिएको छ ।

पौडी पोखरी ‘फिना’ स्टान्डरको बनाइएको छ, जुन २५ मिटर चौडाइ र २५ मिटर लम्बाइको छ । त्यसमा एकै पटक १० जनाले भाग लिन सक्नेछन् भने पानी फिल्टर गर्ने मेसिनहरु र प्रतियोगितामा सहभागी हुने खेलाडीलाई छुट्टै भवन समेत बनाइएको ठेकदार कम्पनीका प्रतिनिधि दीपक बरालले बताए ।

उनले भने, ‘भित्रको संरचना अत्याधुनिक र प्यासिलिटी तरिकाले बनाइएको छ । हामी रङ्गशालाभित्र कर्णालीका इतिहास् झल्कने परम्परागत चित्रहरु पनि राख्ने छौँ, जसले रङ्गशालाको शोभा झन बढ्ने छ ।’ रङ्गशालाभित्र खाली रहेको ठाउँहरुमा विभिन्न विरुवाहरु रोपिएका छन् ।

रङ्गशालाको काम असोज मसान्तसम्म सम्पन्न गरिसक्ने बताइएपनि केही ढिलाइ भएको छ । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय लागत रहेको रङ्गशालाको १ अर्ब ५० करोड बढीको जतिको काम भइसकेको उनले बताए । ०७८ मङ्सिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशाला निर्माणको शिलान्यास गरेका थिए । रङ्गशालामा विभिन्न १६ वटा खेल खेलाउन सकिने छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्याल भन्छन्, ‘अबको १५ दिनभित्र रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण गर्छौं भनेर ठेकदार कम्पनीले भनेको छ ।’ अहिले अन्तिम अवस्थाको फिनिसिङका कामहरु भइरहेका छन् ।

दसौं खेलकुद अब अनिश्चित

मंसिर महिनामा कर्णालीमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद अब अनिश्चित भइसकेको छ । अब कहिले हुने भन्नेबारे कतै छलफल भएको पनि देखिन्न । प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद विकास परिषद् र केन्द्र सरकारले नै कुनै अग्रसरता नदेखाएपछि प्रतियोगिताको भविष्य समेत अन्योलमा परेको हो ।

‘हामीले दसौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर काम धमाधम गरेका हौँ तर राजनीति खिचातानीका कारण मङ्सिरमा हुने भनिएको प्रतियोगिता हुने सम्भावना कम छ,’ सदस्य सचिव सञ्ज्याल भन्छन्, ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गरेका हौं, केन्द्रबाट नै प्रतियोगिता पछाडि धकल्ने काम भयो ।’

परिषद्का उपाध्यक्ष प्रमोद हमाल अब प्रतियोगिता कहिले हुने भन्ने कुरा प्रदेशको हातमा नरहेको बताउँछन् । राखेपको बोर्ड बैठक नबस्दा यो विषय ओझेलमा परेको हमालले बताए । ‘दसौं खेलकुद राखेप र केन्द्रको खेलकुद मन्त्रीका कारण ओझेलमा परेको हो,’ हमालले भने, ‘प्रदेशले गर्नुपर्ने काम सबै गरेका हौँ ।’ दसौंका लागि कर्णाली सक्षम रहेपनि केन्द्रका कारण खेल हुन नसकेको हमालले बताए ।

तपाईको प्रतिक्रिया