कर्णाली याक्सबाट शिखर धवनले एनपीएल खेल्ने

काठमाडौ । कर्णाली याक्सले नेपाल प्रमियर लिग (एनपीएल)का लागि चर्चित भारतीय खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किङ्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । त्यस्तै, भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन् ।

ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्र्याएको हो। यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ ।

टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनाल लगायत छन् । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

तपाईको प्रतिक्रिया