सुर्खेत। स्वास्थ्य चौकीबाट ग्रामिण अल्ट्रासाउन्ड सेवा दिन थालिएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नं. १३ स्थित मालिका स्वास्थ्य चौकी बाट नियमित रूपमा अल्ट्रासाउन्ड सेवा सुरु गरिएको हो । एभरेष्ट क्लब दैलेखले मालिका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम सहित अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएपछि ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरिएको स्वास्थ्य चौकी प्रमुख नगेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
दुल्लु नगरपालिका–१३ का ९१ जना लक्षित गर्भवती महिलासँगै अन्य वडाका र गुराँस गाउँपालिका क्षेत्रका महिलाहरूले पनि सेवा लिएका छन् । यसअघि, अल्ट्रासाउन्ड सेवा नहुँदा गर्भवती महिलाहरूलाई स्वास्थ्य जाँचको लागि जिल्ला अस्पताल दैलेखमा जानुपर्ने बाध्यता थियो । यसले समयमै चेकजाँच नगरेका कारण आमा र बच्चामा जटिलता र मृत्युका घटनाहरू हुने गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा चार जना बच्चा र २०८०/०८१ मा तीन जना बच्चाको मृत्यु भएको थियो । असुरक्षित गर्भपतनका कारण एक जना आमाको पनि मृत्यु भएको जनाइएको छ । यस नयाँ अल्ट्रासाउन्ड सेवाले आमा र बच्चाको स्वास्थ्यमा उत्पन्न हुने जटिलतामा कमी ल्याई मृत्युदर घटाउने उद्देश्य राखिएको प्रमुख सापकोटाले बताउनुभयो ।
२०७५ सालमा उल्टो बच्चा भएको समयमै पहिचान नभएको कारणले एक आमा र गर्भको बच्चाको मृत्यु भएको थियो भने हाल गत आ व मा प्रसूतिको कारणले हुने जटिलताका कारण आठ जना सुत्केरी महिलाहरूलाई जिल्ला अस्पताल दैलेख र प्रदेश अस्पताल सुर्खेतमा प्रेषण गर्नुपर्ने अवस्था आएको थियो । यद्यपि, आर्थिक अवस्था कमजोर भएकाले ती महिलाहरूलाई प्रेषण गर्न समस्या भएको जनाइएको छ ।
अब दुल्लु नगरपालिकाले शुरु गरेको निःशुल्क एम्बुलेन्स सेवा मार्फत यस समस्यामा सुधार आएको छ । स्वास्थ्य चौकीमै भिडियो एक्स–रे सेवा सुरु भएपछि नियमित स्वास्थ्य परीक्षण गरी आमा र शिशुको स्वास्थ्य अवस्थाको जानकारी हुने र कुनै समस्या देखिएमा तत्कालै उपचार गर्न सकिने भएकाले आमा र बच्चा दुबैका लागि सहयोगी हुने जनाइएको छ । यसबाट गर्भवती महिलासँगै अन्य बिरामीले पनि गाउँघरमै रोगको निदान हुनेगरी उपचार सेवा पाउने छन् ।
नेपालीरैबार । २०८१ मंसिर ३, सोमबार