विद्यालयको खाता सञ्चालन नहुँदा दिवा खाजा बन्द हुने समस्या

जाजरकोट । भेरी नगरपालिका–१३ स्थित भगवती माध्यमिक विद्यालयको खाता सञ्चालन नहुँदा दिवा खाजा बन्द हुने भएको छ । सरोकारवाला निकाय र विद्यालय व्यवस्थापन समितिको लापर्बाहीमा गत असारदेखि विद्यालयको खाता सञ्चालनका लागि पहल नगरिँदा सरकारबाट दिवा खाजाका लागि प्राप्त भएको रकम निकासा नहुँदा सो समस्या आएको हो ।

सरकारले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई दिवा खाजा व्यवस्था गरे पनि विद्यालय व्यवस्थापन समिति र सरोकारवाला निकायले खाता सञ्चालनका लागि पहल नगर्दा बालबालिकाले दिवा खाजा नपाउने भएका छन् । गत असारमा प्रधानाध्यापक प्रताप रोकाया सरुवा भई जानुभएपछि खाता सञ्चालन हुन नसक्दा दिवा खाजा, एसइईको ग्रेड सिट, पाठ्यपुस्तकलगायत विद्यालय सञ्चालनका लागि आवश्यक सामग्री ल्याउन नसक्दा शिक्षकले व्यक्तिगत रकमबाट खरिद गर्ने गरेका छन् ।

भगवती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक डिलबहादुर खत्रीका अनुसार विद्यालयका तत्कालीन प्रअ प्रताप रोकाया सरुवा भएर जुनीचाँदे गाउँपालिका जानेभएपछि विद्यालय सञ्चालनका लागि खोलिएको खाता परिवर्तन नहुँदा विद्यालय तथा बालबालिकाको भविष्य अन्धकार भएको छ । सरकारले दिएको रकम विद्यालयको खातामा जम्मा भए पनि खाताबाट रकम निकाल्न नपाउँदा असारदेखि कात्तिकसम्म दिवा खाजामा लागेको करिब एक लाख ५० हजार रुपियाँभन्दा बढी रकम तिर्न बाँकी छ । दिवा खाजाका लागि आवश्यक परिकार खरिद गरेको पैसा नदिएपछि दिवा खाजा बन्द गर्नुपर्ने भएको छ ।

विद्यालयका लेखापाल नीरज रोकायाका अनुसार विद्यालयको खाता सञ्चालनका लागि सरोकारवालाले पहल नगर्दा आर्थिक, भौतिक, शैक्षिक गुणस्तर खस्किँदै गएको छ । विद्यालयलाई फराकिलो बनाउनुको साटो सरोकारवाला निकायले साँघुरो बनाउँदै गएका छन् । पाठ्यपुस्तकको रकम विद्यालयको खातामा जम्मा भए पनि सरोकारवाला, राजनीतिक दलको उदासीनताका कारण गत वर्षको पाठ्यपुस्तकको करिब एक लाख १७ हजार रुपियाँ बराबरको रकम पनि तिर्न बाँकी छ । विद्यालयमा देखिएका समस्या समाधान गरी बालबालिकाको भविष्य निर्माणको थलोलाई बेवास्ता गर्दा विद्यालय अनिर्णयको बन्दी भएको उनले बताए ।

तपाईको प्रतिक्रिया