सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामुदायिक विद्यालयमा उपलब्ध गराइने दिवा खाजमा स्थानीय उत्पादनलाई अनिवार्य बनाउँनु पर्ने बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय दिवा खाजा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम परियोजनाको प्रदेशस्तरिय छलफल तथा योजना तयारीमा गोष्ठिमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
स्थानीयस्तरमा उपलब्ध पौष्टिकयूक्त खाद्य पदार्थको उचित व्यवस्थान गरेर कृषकलाई उत्पादनमा आधारित प्रतिफल दिन सके दिवा खाजा कार्यक्रम प्रभावकारी हुने मन्त्री भण्डारीले बताए । आम नागरिकको सामुदायिक विद्यालयप्रतिको नकारात्मक दृष्टिकोणका कारण शिक्षाको गुणस्तर घट्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले स्थानीयस्तरमा उत्पादन हुने रैथाने वस्तुलाई दिवा खाजाको रुपमा प्रयोग अनिवार्य गर्न स्थानीय पाठ्यक्रममै यो विषय समावेश गर्नुपर्ने बताए । प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई उद्यमशिलतामा जोड्न विद्यालयले सानै उमेरदेखि फलफूल तथा नगदेबाली लगाउँनेतर्फ ध्यान दिनुपर्ने मन्त्री भण्डारीले जोड दिए ।
अन्तराष्ट्रिय लाइन क्लव फाउण्डेशन तथा विश्व खाद्य युएसएको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन भएका पालिकाहरुको सिकाई आदान–प्रदान गरिएको थियो । यस्तै, उक्त कार्यक्रममा राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन हुन लागेका जाजरकोट र सुर्खेतका १४ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग छलफल गरी विश्व खाद्य र स्थानीय तहबिच परियोजनामा सम्झौतासमेत भएको थियो ।
नेपालीरैबार । २०८१ मंसिर ५, बुधबार