सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका उपनिर्वाचन अन्तर्गत उपप्रमुख पदका लागि मतदान जारी छ । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त निर्वाचन अधिकृत नविन कुमार कठायतले बताए ।
उनका अनुसार बिहान ११ बजेसम्म यहाँ ४ हजार ४७ मत खसिसकेको छ । नलगाडमा १६ मतदान स्थल र २४ मतदान केन्द्र रहेका छन् । नगरपालिका भित्र १६ हजार ४ सय ४९ जना मतदाताले मतदान गर्ने छन् । नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको भूकम्पका कारण निधन भए पछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो ।
यहाँ उपप्रमुखका लागि ६ जना चुनावी मैदानमा छन् । जसमा कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादीबाट देवका लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, राप्रपा नेपालबाट सुनिता पुन रावल र नेपाल समाजवादीबाट पवित्रा जैसी रहेका छन् ।










नेपालीरैबार । २०८१ मंसिर १६, आईतवार