आश्रयविहीनलाई आश्रय दिन वीरेन्द्रनगरमा महायज्ञ

५ करोड संकलन हुने अनुमान, ८२ मा सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य

सुर्खेत । मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ लाग्दै छ । यो महायज्ञ विशेषगरी आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ लगाइँदै छ । महायज्ञ मूल आयोजक समितिका संयोजक डाक्टर नवराज केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ । उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाउन लागिएको उनले बताए ।

अहिले मानवसेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ । ०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ । हालसम्म ४ सय ६ जना बेसहारालाई उद्धार गरिएको आश्रमले जनाएको छ । मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले भवन निर्माणका लागि डीपीआर तय भइसकेको बताइन् । भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । यद्यपि उक्त रकम अभाव हुने भएपछि रकम जुटाउन महायज्ञ लगाउन लागिएको हो ।

सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नभएकाले समाजको पुँजी पनि यसमा लाग्नुपर्ने र पैसा मात्र नभइ सेवा गर्ने हातहरु पनि चाहिएको उनको भनाइ छ । सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामुहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाक्री प्रदर्शन लगायतका कार्यक्रम रहने छन् ।

महायज्ञ अवधिमा बिहान ५–७ बजेसम्म योगको कार्यक्रम गरिने छ । त्यसमा अन्तराष्ट्रिय स्तरको प्रशिक्षक आउने बताइएको छ । ७–९ बजेसम्म प्लस टु लेवका विद्यार्थीहरुलाई योग, प्रणायम, ध्यानको महत्वको बारेमा मानवता प्रवद्र्धन प्रशिक्षण दिइने छ । ९–११ सम्म ८, ९, १० कक्षाका विद्यार्थी, त्यसपछि बेलुका ४ बजेसम्म कथा वाचन र त्यसपछि ८ बजेसम्म स्थानीय तथा बाहिरबाट आएका कलाकारबाट भजनको कार्य हुने छ । महायज्ञमा सन्दुक रइत, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका व्यक्तिहरु पनि सहभागी हुने बताइएको छ ।

महायज्ञबाट ५ करोडको अपेक्षा

महायज्ञ मूल आयोजक समितिका सह–संयोजक सागर भुषालले भवन निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरे । भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्नेमात्र नभई मानवसेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने लक्ष्य रहेको उनले बताए । ‘मानवता अध्ययन केन्द्रको रुपमा विकास गरिने परिकल्पना छ,’ उनले भने । साथै महायज्ञमा आउने गुरु, कथा वाचक, कलाकारहरुले पैँसा लिने छैनन् ।

दाता र सम्मान कार्यक्रम

आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ । १ करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने बताइएको छ ।

५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।

०८२ मा सडक आश्रित मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य

मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी थालेको छ । त्यो अवधिसम्म देशभर खुल्ला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापन गरिने मानव सेवा आश्रमका संस्थापक लामिछानेले बताए ।

उक्त अवधिमा कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्न ०६९ सालदेखिनै काम भइरहेको उनले बताए । उनका अनुसार अहिलेसम्म १० हजार ६८७ जना भन्दा बढी सहयोगापेक्षी बेसहारा सडक मानवको उद्धार गरी मानवोचित व्यवस्थापन गराइसकिएको छ ।

तपाईको प्रतिक्रिया