कर्णालीलाई हराउँदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले हरायो ।

जितसँगै सात खेलबाट १२ अङ्क बनाएको सुदूरपश्चिमले शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो । दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले १० अङ्क जोड्दै क्वालिफायरमा स्थान बनाएको छ ।

सुदूरपश्चिमसँग हारेपनि कर्णाली नेट रन रेटका आधारका काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुगेको छ । समान आठ अङ्क बनाएको चितवन राइनोजले पनि यसअघिनै प्लेअफमा स्थान बनाएको थियो । कर्णाली र चितवनले एलिमिनेटर खेल्नेछन् ।

लिगको अन्तिम खेलको नतिजासँगै काठमाडौँ गुर्खाज कर्णालीसँग नेट रन रेटमा पछि पर्दै बाहिरिएको छ । एनपिएलमा सहभागि आठ टोलीमध्ये विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघिनै बाहिरिएका थिए ।

जितका लागि एक सय दुई रनको सामान्य लक्ष्य पछयाएको सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेटको क्षतिमा एक सय पाँच रन जोड्दै लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए । इशान पाण्डेले अविजित ३८ र ओपनर सईफ जैवले ११ रन बनाए । बलिङमा कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाए ।

यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११÷११ रन बनाए । बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिए ।

तपाईको प्रतिक्रिया