सुशील कार्की
नेपालगन्जको त्यो तातो घाम, जाडोले कठ्याङ्ग्रिने बिहान, अनि सधैंको धूलो र चोकको भीडभाड। ती दिनमा पनि म सधैं एउटा साथी पाउँथेँ—मायालाई। उनका लामो कपालले घामलाई पनि शीतल दिन्थ्यो। जब उनी खिस्स हाँस्थिन्, लाग्थ्यो सुन्दरता भनेको यही हो। उनीसँगको साथ मेरो लागि सधैं ऊर्जा थियो।
साथै बिताएका सात-आठ वर्ष कसरी बिते, मलाई पत्तै भएन। लाग्थ्यो, यो संसारमा म जति भाग्यमानी कोही छैन। हामी स्कूलमा सँगै बिताएका ती दिनहरू अझै मेरो मनमा घुमिरहेका छन्। उनी मेरो जीवनको पहिलो प्रीतिका रूपमा आइन्। गाउँकै बोर्डिङमा हामी पढ्थ्यौं। ती कक्षाकोठाका झ्यालबाट आउँथे गर्मी हावा, तर मेरा लागि त्यहाँ मायाको शीतलता थियो।
बीचमा कोरोना आयो। सबै कुरा ठप्प भयो। म १० कक्षा पास गर्दै थिएँ, उनी ८ कक्षामा। परिस्थिति अनिश्चित थियो, तर मेरो मनमा उनको नाम मात्र निश्चित थियो। उनी थप पढ्न नेपालगन्ज जान्छिन् भन्ने सुनेपछि, मेरा पाइलाहरूलाई पनि ठूलो शहरको बाटोले तान्न थाल्यो। म उनीसँग नजिक हुनका लागि पढ्न बाहाना बनाएर, हाम्रो सानो गाउँ छोडेर नेपालगन्ज आएँ।
नेपालगन्जको पहिलो दिन, उनका साथमा बितेको सम्झँदा अझै मेरो मन आनन्दित हुन्छ। हामीले सँगै भविष्यको कुरा गरेथ्यौं, सपनाहरू बाँडेथ्यौं। नेपालगञ्ज रङ्गशाला अगाडि मङ्गलप्रसाद स्कुल थियो , उनी त्यही स्कुलमा पढ्थिन् त्यो स्कुल पछाडि एउटा नास्ता पसल थियो । उनी आफ्नो दिदीलाई छलेर केही बहाना लगाएर मलाई भेट्न त्यो नास्ता पसलमा आइन्। हाम्रो पहिलो भेटको विशेष क्षण।
एउटै प्लेटमा समोसा खाँदै गर्दा, हामीले समोसाको स्वादको आनन्द लिएर सपना पनि बुनेका थियौं। सँगै काम गर्ने, सँगै घुम्ने, अनि जीवनको हरेक पललाई अर्थपूर्ण बनाउने योजना बनाएका थियौं। बीचमा जे जस्तो भएतापनि उनीले आफ्नो गल्ती स्वीकारेर मैले मेरो गल्ती स्वीकारेर हामी अघि बढिम । तर बीचमा उनले अब यसो गर्दिन भन्दाभन्दै धेरैपटक उस्तै गल्ती नगरेको पनि होइन । तर पनि विश्वास थियो एकदिन उनी मेरो माया बुझ्ने छिन् भनेर म किन शङ्का गर्छु उनीलाई भनेर, खैर’ यिनी कुराहरु छोडेर अघि बढीमा हामी हाम्रो जिन्दगीको यात्राहरूमा। कहिलेकाहीँ त्यो रानी तलाउमा थकान मेटाउन जान्थिम हामी उनी बच्चाले खेल्ने झुनंगलामा बच्चा जस्तै गरेर खेल्थिन । म हेरिरहन्थे उनी खिस्स हाँस्थिन् मलाई धकल्देउ भनेर जिद्दी गर्थिन् ।
तर ती दिनहरू अब केवल सम्झनामा सीमित छन्। अहिले, जब उनी मेरो साथमा छैनन्, यो शहर एकदमै शून्यजस्तो लाग्छ। इरसादको ठेला त अझै त्यहीँ छ। चटपटेको तीखो स्वाद पनि उस्तै होला। तर, मेरो मनमा त्यो स्वादको मिठास हराइसकेको छ। उनी बिना, नेपालगन्जका हरेक चोक र बाटाहरू सुनसानजस्ता लाग्छन्। ती चोक, जहाँ हामी सँगै गफगाफ गर्दै हिड्थ्यौं, अब तिनले मलाई घोच्छन्।
साँझमा, थकित अनुहार लिएर घर फर्कंदा, ती सडकहरूले उनको याद दिलाउँछन्। उनका हाँसो, झर्किने लवज, अनि गुनगुनाउँदा सुनिने मिठो आवाजले मेरो मनलाई हरपल सताउँछ। उनको अनुहारलाई सम्झेर आँखा चिम्लन खोज्छु, तर आँखाभरि नदेखिएका आँसुले भरिन्छन्।
सायद परिस्थितिले हाम्रो बाटो अलग बनायो, तर हाम्रो माया कहिल्यै छुटेन। उनीसँग मेरो सम्बन्धमा कहिल्यै शब्दहरू टुटेनन्, तर उनी टाढा हुँदा, मेरो हरेक शब्दमा पीडा मात्रै बाँकी रह्यो।
आज पनि जब म नेपालगन्जका ती चोकमा हिंड्छु, बिटीएस चोकको भीडले मलाई केही फरक पार्दैन। इरसादको ठेला देख्दा, मनले भन्छ, “त्यहाँ फर्केर हेर त, उनी अझै त्यहीँ उभिएकी होलिन्।” तर, त्यो केवल मेरो कल्पना मात्रै हो।
जीवन भनेको यात्रा हो। यो यात्रा सँगै गर्नेहरू पनि हुन्छन्, छुट्टिएर गर्नेहरू पनि। तर म ती भाग्यमानीमध्ये एक हुँ, जसले उनलाई आफ्नो जीवनको हिस्सा बनाउन पाएँ। आज, उनी मेरो साथमा छैनन्, तर मेरो प्रत्येक दिन, प्रत्येक क्षणमा उनी छिन्। उनीसँग बिताएको पलले मलाई जीउन सिकाएको छ।
मायाको दूरीले कहिल्यै अन्त्य हुँदैन। म उनीसँग भौतिक दुरीले छुट्टिएको महसुस गर्छु, तर उनी मेरो हृदयमा सधैं छन्। म जान्दछु, म बाँच्नुपर्नेछ। किनकि जीवनले मलाई यो सिकाएको छ—माया कहिल्यै समाप्त हुँदैन।
नेपालीरैबार । २०८१ पुष १३, शनिबार