
सुर्खेत । पत्रकार सुशीलराज शर्माकाे सुर्खेतकाे इतिवृत्त-२ विमाेचन भएकाे छ । पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्षसमेत रहेका शर्माद्वारा लिखित पुस्तककाे कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विमाेचन गरेका हुन् । सुर्खेतकाे समर्ग इतिहास समेटिएकाे शर्माकाे याे दाेस्राे कृति हाे । यस अघि शर्माले सुर्खेतकाे इतिवृत्त-१ लेखिसकेका छन् । शनिबार विमाेचन भएकाे पुस्तक अंग्रेजी र नपाली भाषामा लेखिएकाे छ ।
पुस्तकमा सुर्खेत जिल्लाकाे भाैगाेलिक, सामाजिक, राजनीतिक, प्रशासनिक, जनसांख्यिक अवस्था एवम् जनविश्वास र मूल्यलाई जीवन्त ढंगले लिपिबद्ध गरिएकाे छ । यस्तै, जिल्लाकाे शिक्षा, खेलकुद, कला, साहित्य, संगित लगायतका विविध पाटाेलाई तथ्यपरक ढंगबाट पुस्तकमा चर्चा गरिएकाे छ ।
जिल्लाको पुरातात्त्विक, सांस्कृतिक महत्त्वलाई पुस्तकमा स्पष्ट रूपमा चित्रण गरिएको छ । पुस्तक जिल्लाको सामान्य जानकारी लिन चाहने, जिल्लाका विविध वस्तुयथार्थ टिपोट गरी सूचना सम्प्रेषण गर्न र स्थानीय पाठ्यक्रम बनाउनका लागि र उच्चस्तरीय कार्यक्रमिक एवम् प्राज्ञिक अध्ययन तथा अनुसन्धान गर्न पुस्तक उपयोगी हुने जनाइएकाे छ ।
पुस्तक विमाेचन गर्दै कर्णाली प्रदेश सरकारका मुख्मन्त्री यामलाल कँडेलले पुस्तकमा दस्तावेजिकरण गरिएका तथ्यका आधारमा सुर्खेत जिल्लाकाे विकास नीति तय गर्न सहयाेग पुग्ने बताए ।

नेपालीरैबार । २०८१ पुष १३, शनिबार