भूकम्प प्रभावित क्षेत्रमा सचेतनाका लागि ‘मोबाइल भ्यान’ कार्यक्रम

रुकुमपश्चिम । भूकम्प प्रभावित क्षेत्रमा सचेतनाका लागि ‘मोबाइल भ्यान’ प्रयोग गरिएको छ । रुकुमपश्चिम र जाजरकोटमा ‘मोबाइल भ्यान’ अर्थात् घुम्ती गाडीमा भिडियो सामग्री प्रदर्शनीमार्फत विपत्पश्चात्को पुनर्निर्माण, सुरक्षित आवास, कार्यस्थलमा हुने यौनजन्य शोषण र दुव्र्यवहारविरुद्ध प्रभावितलाई जानकारी गराइएको हो ।

बेलायती राजदूतावास (एफसिडिओ) को सहयोगमा जाजरकोट र रुकुमपश्चिममा सञ्चालित संयुक्त पुनर्लाभ कार्ययोजना अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले उक्त कार्यक्रम सञ्चालन गरेको हो । आइओएमले ग्रामीण युवा सरोकार केन्द्रमार्फत जाजरकोट र रुकुमपश्चिमका १३ वटा पालिकामा स्वयंसेवक परिचालन गरेर मोबाइल भ्यान कार्यक्रम सञ्चालन गरेको हो ।

आइओएमका इन्जिनियर चन्द्र अधिकारीले पिकअप गाडीमा ठुलो साइजको टेलिभिजन सेट राखेर दुवै जिल्लाका बढी प्रभावित टोलमा सचेतामूलक भिडियो सामग्री प्रदर्शन गरिएको बताए । उनले विपत्का बेला भिडियो सामग्रीमार्फत सन्देश प्रवाह गर्दा प्रभावकारी भएको जनाउनुभयो । घरबासविहीन भएका तथा विपत्को पीडाले तनाव झेलिरहेका प्रभावितलाई भिडियो प्रदर्शनी मनोरञ्जन र सचेतनाको गतिलो माध्यम भएको बताइएको छ ।

भिडियो सामग्री पुनर्निर्माण, सुरक्षित आवास निर्माण, वातावरणमैत्री सिएसइबी इँटा, यौनशोषण र दुव्र्यवहारविरुद्ध सन्देशका विषयमा केन्द्रित रहेको थियो । टोल टोलमा भिडियो देखाउने गाडी पुगेपछि प्रभावित झुम्मिने गरेको, भिडियो सामग्रीमा अस्पष्ट भएका कुरा सोध्ने गरेको, विभिन्न स्थानमा भिडियो प्रदर्शनीको माग भएकोसमेत इन्जिनियर अधिकारीले बताएका छन्।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–१० की शारदा खड्का ओलीले गाडीमा देखाएको भिडियोपछि विपत् जतिबेला पनि आउन सक्ने भएकाले सरकारले तोकेको मापदण्ड अनुसारको सुरक्षित घर बनाउनुपर्ने कुरा सिकेको बताए । उनले प्रभावित व्यक्तिलाई लोभलालच देखाएर यौनशोषण गर्न सक्ने सम्भावना भएकाले सबै सचेत हुनुपर्ने सन्देशसमेत जानकारी भएको जनाए । ग्रामीण युवा सरोकार केन्द्रका टिम लिडर माधव चन्दले पछिल्लो दुई महिना जाजरकोटका सात वटा र रुकुमपश्चिमका छ वटा पालिकमा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए  । चन्दका अनुसार आइओएमको अगुवाइमा जाजरकोटमा ३५ स्थान र रुकुमपश्चिमका ३० स्थानमा मोबाइल भ्यान कार्यक्रम सम्पन्न गरिएको छ ।

तपाईको प्रतिक्रिया