सल्यान । आफ्नो जन्मदिनको अवसरमा सल्यानका एक युवाले विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । भोज, घुमफिर तथा अन्य उपलब्धिहीन खर्च कटाएर सामाजिक अभियन्ता ज्ञानेन्द्र पुनले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।
बिहीबार शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा आधारभूत विद्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरेर १८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरेका हुन् । जन्मदिनको अवसरमा सामाजिक अभियन्ता पुनले ११ जना छात्रा र ७ जना छात्रलाइ सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
जन्मदिनको अवसरमा उनले २० दर्जा कापी, १८ दर्जन कलम, दुई सेट ब्याडमिन्टन, १८ थान ज्यामिति बक्स, लुडो सेट ५ र चार्ट बोर्ड ६ थान उपलब्ध गराएको विद्यालयले जनाएको छ । सो अवसरमा विद्यालयका प्रधानाध्यापक ओमलाल बुढाथोकीले जन्मदिनको अवसरमा अनुकरणीय काम गरेको भन्दै पुनलाई धन्यवाद दिँदै बालबालिकाको पठनपाठनमा शैक्षिक सामग्रीले महत्त्वपूर्ण टेवा पु¥याउने बताए ।
यस्तै जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकालाई गुणस्तरीय शिक्षासँग जोड्नका लागि सक्दो सहयोग गरिएको पुनले बताए । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यार्थीले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
शिक्षाप्रति ज्ञानेन्द्र जस्ता युवाहरूको लगावप्रति विद्यालय परिवार खुसी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुपा बुढाथोकीले बताएका थिए । कार्यक्रममा सल्यान कला साहित्य परिषद् सल्यानका अध्यक्ष भरत रोकाय, एन.एल.जि इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहोरा, टेकमाण्ड नेटवर्क कर्णाली प्रदेश प्रमुख सङ्गम बिहानी, सामाजिक अभियन्ता लगायतको सहभागिता थियो ।
नेपालीरैबार । २०८१ माघ ४, शुक्रबार