कर्णालीमा बहुवर्षीय आयोजनाको होड, आगामी वर्षदेखि नयाँमा बजेट पर्न मुस्किल

सुर्खेत । कर्णाली प्रदेशमा बहुवर्षीय आयोजनाको होड चलेको छ । विगतमा आर्थिक वर्षको अन्तिमतिर रकमान्तर गरिने गरेकोमा अहिले आफ्नो स्वार्थ भएका र निर्वाचन क्षेत्रका आयोजनालाई बहुवर्षीय आयोजनामा रूपान्तरण गर्ने होड चलेको हो ।

प्रदेश सरकार आयुका बारेमा प्रश्न उठिरहेका बेला आगामी वर्षका बजेटलाई लक्षित गरी अहिलेदेखि नै स्रोत सुनिश्चित गरिएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले मात्रै आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न ६२ वटा आयोजनामध्ये केहीलाई बहुवर्षीय आयोजनामा रूपान्तरण गरेको छ भने अधिकांश आयोजनालाई अहिलेदेखि नै स्रोत सुनिश्चित गराएको हो ।

यस्तै, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले विभिन्न १४ वटा आयोजनाको स्रोत सुनिश्चितता गराएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सुर्खेतका तीनवटा आयोजनाका लागि बजेट सुनिश्चित गरिदिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले वीरेन्द्रनगर– ५ मा प्रादेशिक रिफरल भेटेरिनरी अस्पताल निर्माण गर्ने भन्दै बहुवर्षीय आयोजनाको रूपमा अघि बढाएको छ ।

अस्पताल निर्माणका लागि लागत अनुमान १२ करोड ९८ लाख ६५ हजार ९२३ रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । अब सरकारले बहुवर्षीय योजनामा रुपान्तरण गरेसँगै आगामी आर्थिक वर्ष २०८२÷०८३ मा ६ करोड ५० लाख र २०८३÷०८४ मा ३ करोड २३ लाख ६५ हजार ९२० रुपैयाँ विनियोजन गर्नुपर्नेछ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले धेरै योजनालाई बहुवर्षीय योजनाको रूपमा छनोट गरी आगामी २ आर्थिक वर्षका लागि भन्दै पहिल्यै बजेट व्यवस्थापन गरेको हो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट विनियोजन भई कार्यान्वयनमा रहेका योजनामा सबैभन्दा बढी सुर्खेतबाट बहुवर्षीय र स्रोत सुनिश्चित गर्ने योजना बनाएको छ । लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनगाढा सडक निर्माणका लागि चालु आर्थिक वर्षमा २ करोड ५० लाख विनियोजन भएकोमा यो योजनाका लागि आगामी आर्थिक वर्षमा ७ करोड ४९ लाख ८५ हजार बजेट विनियोजन गरिने भएको छ ।

मूलपानी–फलाँटे–रानीघाट सडक स्तरोन्नतिका लागि चालु आवमा ८ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षमा ११ करोड ९३ लाख र आर्थिक वर्ष २०८३÷०८४ मा ११ करोड ९३ लाख रुपैयाँ विनियोजन गर्नुपर्ने छ । गणेशचोक–खारखोली पुल निर्माणका लागि यो वर्ष ६० लाख बजेट विनियोजन भएकोमा आगामी वर्ष १ करोड १२ लाख ८ हजार रकम विनियोजन हुनेछ ।

छेडागढी–लेखगाउँ–श्रीचौर–कल्यणकाँध सडक निर्माणका लागि चालु आवमा ३ करोड विनियोजन भएकोमा आगामी २ आर्थिक वर्षमा क्रमशः ४ करोड ४९ लाख ९६ हजार र ४ करोड ४९ लाख ९७ हजार बजेट विनियोजन गर्नुपर्ने हुन्छ । जहरे–लेकझिंगिनी सडक निर्माणका लागि चालु आवमा १ करोड बजेट विनियोजन गरिएकोमा आगामी २ वर्षमा १ करोड ४९ लाख ७७ हजार ९ सय रुपैयाँका दरले मन्त्रालयले बजेट विनियोजन गर्नुपर्ने छ ।

यस्तै, प्रदेश लोकसेवा आयोग कार्यालय प्रांगणभित्र सेवाग्राही प्रतीक्षालय लगायतका संरचना बनाउन चालु आवमा १ करोड रकम विनियोजन गरेकोमा आगामी वर्षका लागि थप ७४ लाख ६४ हजार बजेट विनियोजन हुनेछ ।

यस्तै, कैलाशटोल करेखोला वडा कार्यालय जोड्ने देवस्थान टोल–सुकौरा खोला पक्की पुल निर्माण गर्न चालु आवमा ६५ लाख विनियोजन भएकोमा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १ करोड १० लाख ८४ हजार रुपैयाँ थप गरी स्रोत सुनिश्चितता गराएको छ ।

सुर्खेत जिल्लामा एक ट्रस पुलसहित चार झोलुंगेपुललाई बहुवर्षीय योजनामा रुपान्तरण गरिएको छ । हुम्लामा यांगार–गेरिङ्गपानी–तुक्कोट–मुचु सडक निर्माणका लागि चालु आर्थिक वर्षमा १ करोड २० लाख बजेट विनियोजन गरेकोमा आगामी २ आर्थिक वर्षमा क्रमशः २ करोड ५९ लाख ७२ हजार ८ सय रुपैयाँ र १ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरिएको छ । हुम्लामा हुंगार खोला र लिगे–झोलुंगे पुल तथा खार्पुनाथ सडकलाई पनि बहुवर्षीय योजनामा राखी बजेट सुनिश्चित गरिएको छ । यो प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्ला हो ।

सल्यान जिल्लाका थाराचौर–झोलुंगे पुल, चुकेपाखा–मानडाँडा, घुईयाबारी–गंगटे, छत्रेश्वरी–त्रिवेणी, राउचे –सेरा, खारखोला ठाकुरसम्म(शारदा नदी) र गहरास्कूल–गैरीकटेरी जोड्ने झोलुंगे पुलका लागि आगामी आर्थिक वर्षमा बजेट सुनिश्चितता गरिएको छ । भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढाको गृहजिल्ला डोल्पामा नौवटा आयोजनाका लागि बजेट सुनिश्चितता आर्थिक योजना मन्त्रालयले दिएको छ । त्रिपुराकोट–बगर वडा नम्बर ७ कार्यालय छल हुँदै मौरेलेखसम्म सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । यो सडकका लागि आगामी आर्थिक वर्षमा १५ करोड र आर्थिक वर्ष २०८३÷०८४ मा ४ करोड ४९ लाख ३७ हजार १९८ रुपैयाँ बजेट सुनिश्चित भएको छ ।

यस्तै, लाग्ना–लाहारा–माझफाल–दुरगाउँ हुँदै ताली सडकका लागि चालु आवमा २ करोड बजेट छुट्याइएको छ । यो सडकका लागि आगामी २ आर्थिक वर्षमा क्रमशः ४ करोड र १ करोड ९९ लाख ९५ हजार बजेट विनियोजन हुने निश्चित भएको छ । डोल्पामा २ ट्रस पुलसहित ६ वटा झोलुंगे पुलका लागि बजेट चालु आर्थिक वर्षमै विनियोजन भएको छ । जुम्लामा चारवटा झोलुंगे पुलका लागि बजेटको सुनिश्चितता गरिएको छ । महादेव मावि–रुखेटा, शेरादह, गिडीदह र रनुखाना झोलुंगे पुलका लागि बजेट सुनिश्चित भएको हो ।

जाजरकोटमा छेडागाड–मनाघाट–बेलिब्रिजका लागि चालु आवमा ३ लाख बजेट विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षका लागि २ करोड ४ लाख ७४ हजार रुपैयाँ बजेट सुनिश्चित गरेको छ । यस्तै, नलगाड खारा बेलिब्रिज पुलका लागि चालु आवमा २७ लाख मात्रै बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि १ करोड ६५ लाख ३३ हजार बजेट सुनिश्चित भएको छ । बाँकी २ वटा झोलुंगेपुलका लागि बजेट सुनिश्चित गरिएको छ ।

कालिकोट जिल्लाको फुगाड पक्की पुल निर्माणका लागि चालु आवमा ८० लाख विनियोजन भएकोमा मन्त्रालयले आगामी २ आर्थिक वर्षका लागि क्रमशः २ करोड ६२ लाख र १ करोड ४९ लाख ६६ हजार बजेट सुनिश्चित गरिदिएको हो । योबाहेक जिल्लामा तीनवटा झोलुंगे पुलका लागि पनि बजेट सुनिश्चित भएको छ । दैलेखमा विभिन्न १० वटा आयोजनाका लागि बजेट सुनिश्चित गरिएको छ । मन्त्रालयले चिन्याथापा सडक तथा पुल निर्माण आठबीस– १ का लागि चालु आवमा १ करोड ९ लाख बजेट विनियोजन गरेकोमा आगामी वर्षका लागि थप बजेट ३ करोड नब्बेलाख नब्बे हजार बजेट सुनिश्चित गरेको छ ।

यस्तै, मछयायीना सडक तथा पुल निर्माणका लागि १ करोड बजेट चालु आवमा विनियोजित भएको थियो । यो पुलका लागि आगामी आर्थिक वर्षमा २ करोड १९ लाख ६६ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ । मन्त्रालयले तिपेडी खोला, नाइका टाकुरा, चमुण्डा–सुईया, त्रिवेणी दोभान, लयाँटा–विरिया, छोपाडी–पुर्छा, स्याउले –गडाज्यूला र भकभके पानी–जुकाने पानी झोलुंगे पुल आयोजनाको बजेट सुनिश्चित गरेको छ । मुगुको ताल्चा–रारा सडक कालोपत्रे गर्न चालु आवमा २ करोड ५० लाख बजेट विनियोजित भएको थियो । मन्त्रालयले आगामी वर्षका लागि ५ करोड र आर्थिक वर्ष २०८३÷०८४ का लागि २ करोड ३७ लाख ३५ हजार बजेट सुनिश्चित गरिदिएको छ । बाँकी चाट्टेबगर, लिब्रु खोला, गोठीखोला र ढुंगेधारा झोलुंगेपुलका लागि पनि बजेट सुनिश्चित भएको छ । रुकुम पश्चिमको तिल्चाखोला मोटरेबल पुल निर्माणका लागि चालु आवमा २ करोड ५० लाख बजेट विनियोजन भएकोमा मन्त्रालयले आगामी २ आर्थिक वर्षमा क्रमशः ५ करोड र २ करोड ३७ लाख ३५ हजार रुपैयाँको स्रोत सुनिश्चितता गरिदिएको हो ।

रुकुमकै खातुम खोला मोटरेबल पुल निर्माणका लागि ५० लाख बजेट विनियोजन भएकोमा आगामी २ आर्थिक वर्षमा क्रमशः ५ करोड र १ करोड १९ लाख ४० हजार रुपैयाँको स्रोत सुनिश्चितता भएको छ । यस्तै, सोही जिल्लाको रिम्ना–गराईला–गाराघाट पिपल सडकका लागि चालु आवमा २ करोड २० लाख बजेट विनियोजित भएको छ । यो योजनाका लागि आगामी २ आर्थिक वर्षमा थप बजेट क्रमशः ४ करोड ४६ लाख २२ हजार र २ करोड २६ लाख २२ हजार रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ ।

यता प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री शेरबहादुर बुढाले बहुवर्षीय योजना बनाउनु गलत नभएको बताए । उनले आवश्यक मापदण्ड पुगेका आयोजनामा मात्र स्रोत सुनिश्चित गरेको दाबी गर्दै यसले कर्णालीको विकासमा महत्त्वपूर्ण योगदान दिने जिकिर समेत गरे । यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्माले राजनीतिक नेतृत्वको बुझाइका आधारमा स्रोत सुनिश्चित गरिएको बताए ।

तपाईको प्रतिक्रिया