कालीकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बीनाकुमारी शाहीले जानकारी दिएका छन् ।
“सङ्घीय सरकार र प्रदेश सरकारमार्फत आएको बजेटले प्रशासनिक भवन, बहुप्राविधिक शिक्षालय भवन र आवासीय भवन निर्माण थालिएको थियो,” उनले भनेका छन्, “तीनवटै भवन निर्माण भएपछि आइतबार कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका छन् ।”
विद्यालयको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भवनको अभावमा कोही पनि विद्यार्थी खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य नहुने बताए । विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए ।
“वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ प्राविधिक शिक्षाको सुरुआत गरिएको थियो,” उनले भने , “बहुप्राविधिक शिक्षालय र आवास निर्माण भएको छ । त्यसले यही विद्यालयमा बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण बनेको बताइएको छ ।
नेपालीरैबार । २०८१ माघ ७, सोमबार