सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले पालिकामा नवनिर्मित अस्पतालबाट सेवा दिन सुरु गर्ने भएको छ । गाउँपालिकाको–४ स्थित बजेडीचौरमा निर्माण भएको १५ शय्या अस्पतालबाट यही माघ महिनादेखि सेवा दिन सुरु गर्ने भएको हो । गाउँपालिकाको आइतबार सम्पन्न १६ औँ गाउँ सभाले अस्पताल सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले जानकारी दिए ।
अस्पतालमा कर्णाली प्रदेश अस्पतालबाट दुई जना मेडिकल अफिसर डाक्टर काजमा जाने भएका छन् । अस्पतालबाट दुई जना डाक्टरसँगै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्ने गरी तयारी भइरहेको अध्यक्ष चन्दले बताए । भइरहेकाले अबको १५ दिन भित्रमा सेवा सुरु गरिने अध्यक्ष चन्दले बताए हरेक पालिकामा अस्पताल सञ्चालन गर्ने नेपाल सरकारको योजना अन्तर्गत सिम्ता गाउँपालिका–४ स्थित बजेडीचौरमा २०७७ साल मङ्सिरमा अस्पताल भवनको शिलान्यास गरिएको थियो ।
अस्पताल निर्माणको लागि माउण्ट एण्ड कवीन्द्र जेभी भ्याटसहित १४ करोडमा ठेक्का पाएको थियो ।निर्माण कम्पनीले यही २०८१ मसान्तमा भवन निर्माण सम्पन्न गरेको हो । सङ्घीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शय्याको अस्पतालका लागि दशौँ तहको कन्सल्टेन्ट मेडिकल जनरलिष्ट मेडिकल सुपरिटेण्डेण्ट, २ जना मेडिकल अधिकृत सहित ३२ जनाको दरबन्दी रहने गरी सङ्गठन संरचना बनाएको छ ।
अस्पताललाई आवश्यक पर्ने आर्थिक दायित्व सम्बन्धित स्थानीय तहले नै व्यवस्था गर्नुपर्ने हुन्छ । अस्पताल सञ्चालनमा आएपछि सम्बन्धित वडामा रहेको स्वास्थ्य संस्था पनि त्यसैमा गाभ्नुपर्ने हुन्छ । सोही प्रावधान बमोजिम हाल वडा नम्बर ४ मा रहेको बजेडीचौर स्वास्थ्य चौकीलाई अस्पतालमा गाभेर सेवा सुरु गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनले जानकारी दिए । उनले अस्पताल सुरु भएसँगै भिडियो एक्स–रे, ल्याब सेवा, आकस्मिक, बहिरङ्ग र अन्तरङ्ग सेवा,एम्बुलेन्स सेवा सुरु हुने दाबी गरे ।
अस्पताल सुरु भएपछि सिम्तावासीले साना स्वास्थ्य उपचारका लागि पनि मेहेलकुना, वीरेन्द्रनगर, नेपालगञ्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिका अध्यक्ष चन्दको दाबी छ । सिम्ता गाउँपालिकाको जनसङ्ख्या २४ हजार रहेको छ । साथै सुर्खेतको चिङ्गाड, जाजरकोटको शिवालय र सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका केही भूभाग समेत सिम्ता गाउँपालिकामा जोडिएको छ ।
अस्पताल सुरु भएपछि छिमेकी ती पालिकाबाट समेत सेवा लिन आउने अपेक्षा गरिएको छ । अस्पताल निर्माणसँगै सेवा प्रवाहको तयारी तथा अस्पतालबाट विशेषज्ञ सेवा सञ्चालन गरे पछि सिम्ताका नागरिक अब स्वास्थ्य सेवाबाट विमुख हुनुपर्ने दिन हट्ने गाउँपालिका अध्यक्ष चन्दको भनाइ छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टरद्वय नवीन काफ्ले र असिस यादवले काजमा आएर सेवा दिन सुरु गर्ने गाउँपालिकाले जनाएको छ ।
नेपालीरैबार । २०८१ माघ ७, सोमबार