आवश्यक जनशक्ति नहुँदा समस्या

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनशक्ति अभाव झेलिरहेको छ । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय जनशक्ति अभावमा पिल्सिएको हो । ६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयलाई आवश्यक जनशक्ति नहुँदा काम गर्न समस्या भइरहेको छ । कार्यालयको कार्यक्षेत्रअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, रूकुम–पश्चिम, डोल्पा र हुम्ला पर्छन् । २१ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १४ जना मात्र कर्मचारी कार्यरत रहेका छन् । सात जनाको दरबन्दी रिक्त छ । नागरिकका आधारभूत आवश्यकतासँग जोडिएर काम गर्ने कार्यालय भएपनि पर्याप्त कर्मचारी नहुँदा लक्ष्यअनुसारको काम गर्न नसकिएको कार्यालयले जनाएको छ ।

जनशक्ति अभाव हुँदा अपेक्षित काम गर्न नसकिएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले बताए । उनका अनुसार विभिन्न पदमा गरी दश कर्मचारी करारमा कार्यरत छन् । कार्यालयका लागि कम्तीमा दुईवटा चारपाङ्ग्रे गाडी आवश्यक पर्ने भएपनि उपलब्ध छैन ।

पर्याप्त जनशक्ति नहुँदा बजारमा मापदण्डविपरीत र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य पदार्थको बेचबिखन खुलेआम हुने गरेको छ । राज्य संयन्त्रको कमजोरीको फाइदा उठाउँदै खासगरी कतिपय खाद्य उद्योग, होटेल रेस्टुरेन्ट, सडकमा राखेर बेचिने खाद्य पदार्थ, दाना उद्योग, प्रशोधित पिउने पानी उद्योगको गुणस्तरमा उद्योगी व्यवसायीले जनस्वास्थ्यमाथि खेलवाड गर्ने गरेका छन् ।

थापाले भने, ‘प्रदेश सरकार, गाउँ तथा नगरपालिकाहरूबाट बजार अनुगमनमा सहयोगको बारम्बार माग हुन्छ तर पर्याप्त जनशक्ति साधन स्रोत नहुँदा गर्नुपर्ने जति काम गर्न सकेका छैनौँ ।’ कतिपय अनुसन्धानका कामसमेत हुन सकिरहेका छैनन् । ‘दरबन्दी अनुसारको कर्मचारी नहुनाले सेवा प्रवाहमा कठिनाइ भएको छ, थापाले भने, ‘जनस्वास्थ्यसँग जोडिएको कार्यालयलाई माग र आवश्यकता अनुसार जनशक्ति र साधन स्रोत दिने कुरामा सरकारको ध्यान जानुपर्छ ।’

यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले पनि जनशक्ति अभाव झेलिरहेको छ । उक्त कार्यालयले तीन जिल्लामा सेवा दिइरहेको छ । कालीकोट, जुम्ला र मुगुमा कार्यालयले सेवा दिइरहेको हो । चार जनाको स्थायी दरबन्दी रहेको उक्त कार्यालयमा तीन जना कार्यरत रहेका छन् । एक जनाको दरबन्दी रिक्त छ । तीन जिल्ला हेर्ने कार्यालयमा तीन जना कर्मचरी कार्यरत हुँदा एक कर्मचारीको भागमा एक जिल्ला पर्छ । जनशक्ति र साधन स्रोतको अभावमा लक्ष्य अनुसारको काम गर्न नसकिएको कार्यालय प्रमुख पंकज दाहालले बताए । कार्यक्षेत्र धेरै, कामको चाप अधिक र त्यसअनुसार स्रोत–साधन नहुँदा काम गर्न समस्या भएको दाहालले जानकारी दिए ।

त्रैमासिक समीक्षा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले त्रैमासिक प्रगति समीक्षा गरेको छ । कार्यालयले सोमवार दोस्रो त्रैमासिक गतिविधिको समीक्षा गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर जाँच्न प्रयोगशाला सेवा दिने, उद्योग सञ्चालनका लागि अनुज्ञा–पत्र जारी गर्ने लगायतका काम गर्छ । चालु आर्थिक वर्षको हालसम्मको प्रगति भने सन्तोषजनक नरहेको कार्यालय प्रमुख थापाले बताए ।

उनका अनुसार हालसम्म कार्यालयले ५६ दशमलव ५२ प्रतिशत भौतिक प्रगति गरेको छ भने वित्तीय ५७ दशमलव ५२ प्रतिशत मात्र गरेको छ । चालु आर्थिक वर्षको हालसम्म चार सय २० पटक निरीक्षण अनुगमन गरिएको छ । जसमा खाद्य निरीक्षण अधिकारीबाट दुई सय १२ पटक र संयुक्त अनुगमन दुई सय आठ पटक गरिएको हो । अनुगमनको क्रममा भेटिएका चार लाख ६३ हजार बराबरका म्याद नाघेका सामान नष्ट गरिएको छ ।

समीक्षा कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जनस्तरसम्म कार्यालयले सेवा विस्तार गर्नुपर्ने बताए । अझ पनि ग्रामीण ठाउँसम्म कार्यालयको पहुँच पुग्न नसकेको उनको भनाइ छ । सीमित स्रोत–साधन अभावकाबीच पनि कार्यालयको काम गरिरहेको भन्दै जनशक्ति व्यवस्थापनमा आफूले सक्दो पहल गर्ने बताए । खाद्य बजारलाई व्यवस्थित बनाउन व्यवसायी र व्यवसायीहरू आवद्ध संस्थाहरूको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ छ । कार्यालय केन्द्रीय सरकारको मातहतमा रहेपनि सहजताका लागि आवश्यक पहल थालिने उनले जानकारी दिए । संविधानले प्रत्याभूत गरेका अधिकार नागरिकले पाउनेगरी कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिए ।

तपाईको प्रतिक्रिया