सुर्खेत । गुर्भाकोट नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो। कुमारी बैंक मेहलकुनाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।
भत्ता बुझ्न आउनु भएका ७० वर्षीय नरेश्वर ढकालले बैंकले ब्यबस्थापन मा ढिलै गरे पनि वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै खुसी लागेको बताएका छन् । उनले बैंकमा लाइन बस्नुपर्ने झन्झट र गाडी भाडा खर्च सँगै बैंक सम्म पुग्नु पर्ने समय बाट मुक्ति मिलेको बताएका छन् ।
यस्तै, ८३ वर्षीय टेकलाल भट्टराईले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूजस्ता वृद्धवृद्धालाई निकै सहज भएको बताए । वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण बारे नगर प्रमुख हस्त पुनले जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए ।
उनले आफूहरुले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताएका छन् । उपप्रमुख मैना बिकले पनि जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यले नागरिकको अनुहारमा खुसी देखिँदा आफूहरुलाई सन्तोष मिलेको बताए ।
नगरपालिका र वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही, गर्भवती महिला,अपाङ्ग लगायतको नयाँ खाता खोल्ने तथा रकम बचत गर्ने काम गरेको वडानम्बर– २ का वडाअध्यक्ष नोख बहादुर वलिले बताएका छन् । गुर्भाकोट २ का सचीव गणेश डिसिले वडा नम्बर १ र २ का सेवाग्राही करिब ५ सय बढी जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए ।
नेपालीरैबार । २०८१ माघ ९, बुधबार