सुर्खेत । कर्णाली प्रदेशका ६ स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका ६ अधिकृतको जिम्मेवारी खोसिएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै १ नगरपालिका र ५ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएको हो ।
जिम्मेवारी खोसिएका अधिकृतहरुमा हुम्ला सिमकोट गाउँपालिकामा कार्यरत अधिकृत सातौ उजिर रोकाया, दानचुलि गाउँपालिकामा कार्यरत अधिकृत छैटौ हंस महतारा, ताँजाकोट गाउँपालिमा कार्यरत अधिकृत छैटौ राजेन्द्र स्याड्डु रहेका छन् ।
यस्तै मुगु खत्याड गाउँपालिकामा कार्यरत अधिकृत छैटौ बासुदेव कार्की, सोरु गाउँपालिकामा कार्यरत अधिकृत छैटौ तिर्थराज शाही र जाजरकोट छेडागाड नगरपालिकामा कार्यरत अधिकृत छैटौ गंग बहादुर रोकायाको जिम्मेवारी खोसिएको छ ।
मन्त्रालयले ९ माघमा गरेको निर्णयअनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आइरहेका अधिकृतहरू आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ। पछिल्लो समयमा स्थानीय तहका प्रमुखहरूकै सिफारिसमा पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए।
नेपालीरैबार । २०८१ माघ १२, शनिबार