खानेपानीको व्यवस्था नहुदा खोलाको धमिलो पानी खानुपर्ने बाध्यता

सिमकोट । कर्णाली करिडोरको हुम्ला र बाजुरा खण्डमा पर्ने छेउछाउका बस्तीमा बसोवास गर्दै आएका स्थानीय खोलाको पानी प्रयोग गर्न बाध्य छन् । ती बस्तीका वासिन्दाका लागि खानेपानीको व्यवस्था नहुदा खोलाकै धमिलो पानी प्रयोग गर्न बाध्य भएका हुन् ।

कर्णाली करिडोरको छेउमै पर्ने ताँजाकोट गाउँपालिका– ५ को पैमामा बसोवास गर्दै आएका कलबहादुर थापाले वर्षौंदेखि कर्णाली नदीको धमिलो पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए ।

पैमामा बाह्र घरधुरीका स्थानीयले होटल तथा पसल गर्दै आएका छन् । उनले सरोकारवाला निकायसँग पटक पटक खानेपानीको व्यवस्थाका लागि माग गर्दा सुनुवाइ हुन नसकेपछि धमिलै पानी छानेर प्रयोग गरेको समेत स्मरण गर । हिउँदेयाममा कम धमिलो भए पनि बर्खामायमा भने लेदो भएको पानी कपडामा छानेर प्रयोग गर्नुपरेको उनको भनाइ छ ।

खानेपानीको व्यवस्था नहुँदासम्म कर्णाली नदीकै पानी प्रयोग गर्नुको विकल्पसमेत नभएको उनले बताए । सर्केगार्ड गाउँपालिका– १ को बालुकुनाका स्थानीय पदम मल्लले आफूले बालुकुनामा होटल व्यवसाय गरेदेखि कर्णाली नदीको पानी प्रयोग गरिरहेको बताए ।

हुम्ला जिल्लाकै गर्मी हुने उक्त स्थानमा खानेपानी योजना निर्माणका लागि धेरै निकायसँग माग गरे पनि माग हालसम्म पूरा नभएका कारण नदीको फोहोर मिसिएको पानी प्रयोग गर्नु परिरहेको गुनासो उनले सुनाए । बालुकुनामा १५ परिवारले होटल व्यवसाय गरिरहेका छन्। यता, चङ्खेली गाउँपालिका र सर्खेगार्ड गाउँपालिकाको सिमना सलीसल्लामा होटल व्यवसाय गर्दै आएकी मैना बुढाले पाँच वर्ष भयो कर्णालीको पानी प्रयोग गर्दै आएको बताइन् ।

यसअघि सलीसल्लामा डेढ सय जनाले होटल व्यवसाय गर्दै आएकोमा दश जनाले ब्यापार गर्दै आएका छन्। अब कर्णालीको धमिलो पानी प्रयोग गर्नु सामान्यजस्तै भएको भन्दै उनले नदीको पानी प्रयोग गर्नुको विकल्पसमेत नभएको बताए ।

बर्खायाममा धमिलो र लेदो पानी प्रयोग गर्नुपर्ने भएकाले मानिसमा झाडापखालासमेत लाग्ने गरेको छ। यता, बाजुरा जिल्लाको पैमाका स्थानीय बद्री रुपकोटीले पनि पिलु खोलाको पानी प्रयोग गर्ने गरेको दश वर्षभन्दा बढी भएको बताए । बर्खा मात्र नभएर यतिबेला पनि धमिलो पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले यो पानी प्रयोग नगरे अन्य विकल्प पिलुवासीसँग नभएको जानकारी दिए ।

यी स्थानका बस्तीमा वस्ने स्थानीय मात्र नभई पैदल यात्रुले पनि खोलाकै पानी प्रयोग गर्नुपरेको छ। बाजुरा र हुम्ला खण्डमा पर्ने कर्णाली करिडोर छेउछाउमा बस्ती बस्ने क्रम बढिरहे पनि खानेपानीलगायत अन्य संरचनाको विकास भने हुन नसकेको हो ।

तपाईको प्रतिक्रिया