
सुर्खेत । सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए । वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा आइतबार उनले युवा तथा बालबालिकालाई खेलकुदमा आबद्ध गराउन सके असल नागरिक बनाउने अभियान सफल हुने उल्लेख गरेका हुन् ।
“खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउँछ, हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी छ”, मुख्यमन्त्री कँडेलले भने, खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभइ समग्र व्यक्तित्व विकासका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउनसमेत खेलकुदको आवश्यकता छ उनले भने । सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

नेपालीरैबार । २०८१ माघ २०, आईतवार