माओवादी केन्द्रको संगठन विभाग प्रमुखमा जनार्दन

नेकपा (माओवादी केन्द्र) को संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव जनार्दन शर्माले पाएका छन् । गत माघ २१ गते बसेको पदाधिकारी बैठकपछि आईतबार जारी भएको अन्तरपार्टी निर्देशनअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी आफैले राख्नुभएको छ भने शर्मालाई संगठन विभागको जिम्मेवारी दिईएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अन्तर्राष्ट्रिय विभाग प्रमुख हुनुभएको छ भने यो विभागमा उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीले उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

उपाध्यक्ष कृष्णबहादुर महरालाई राज्य व्यवस्था मामिला, उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई मानव संसाधन तथा सामाजिक क्षेत्र, पम्फा भुसाललाई समावेशी तथा सामाजिक न्याय क्षेत्रको जिम्मेवारी तोकिएको छ । यसैगरी महासचिव देवप्रसाद गुरूङले संघीय मामिला क्षेत्रको संयोजकको जिम्मेवारी पाएका छन् । उपमहासचिव वर्षमान पुनलाई आर्थिक क्षेत्रको संयोजक तोकिएको छ ।

त्यसैगरी पार्टीले ७७ वटै जिल्ला ईन्चार्जहरुको टुंगो लगाएको छ । जसअनुसार रुकुम पश्चिमको जिल्ला ईन्चार्जको जिम्मेवारी वसन्त कुमार शर्माले पाएका छन् । केन्द्रिय कमिटी बैठकको म्यान्डेड अनुसार बसेको माओवादी पादाधिकारीहरुको बैठकले जिल्ला ईन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ । सर्कुलर अनुसार रुकुम पूर्वको ईन्चार्जको जिम्मेवारीमा तेजबहादुर ओली, रोल्पामा राजबहादुर बुढा, जाजरकोटमा गगनबहादुर खड्का, सल्यानमा किर्तिबहादुर पुन, डोल्पामा काली चलाउने, सुर्खेतमा झकबहादुर मल्ल, दैलेखमा प्रेम कटुवाल, जुम्लामा नरेश भण्डारी, कालिकोट जीवन बुढा, मुगुमा मंगल शाही, हुम्लामा छिमी लामालाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिईएको छ ।

तपाईको प्रतिक्रिया