
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तोडफोड भएको छ । सोमबार बिहान नगरपालिकाको आर्थिक प्रशासन शाखामा तोडफोड हुनका साथै कर्मचारीहरुलाई अभद्र व्यवहार र गालिगलौज भएको भन्दै सेवा प्रवाह समेत स्थगित भएको छ ।
आठबिसकोट नगरपालिकामा कार्यरत कर्मचारीहरुले एक संयुक्त विज्ञप्ती जारी गरेर घटनाबारे जानकारी गराएका छन् । उनीहरुले आर्थिक प्रशासन शाखामा केहि जनप्रतिनिधि तथा निर्माण व्यवसायी र उपभोक्ता समितिका प्रतिनिधिहरु प्रवेश गरेर अभद्र व्यवहार तथा गाली गलौज गर्नका साथै शाखाका रहेका सामाग्रीहरु तोडफोड गरेको जनाएका छन् ।
विज्ञप्तीमा तोडफोडको कार्यले शाखाका महत्वपूण अभिलेख, श्रेष्ता तथा कागजातमा क्षति पुगेको उल्लेख गरिएको छ । यस विषयमा आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले नगरपालिका भित्रका विभिन्न सडक मर्मतका योजनाहरुको भुक्तानीको बिषयमा असन्तुष्ट विभिन्न व्यक्तिहरुले नगरपालिकाको आर्थिक प्रशासन शाखा तोडफोड गरेको जानकारी दिएका छन् ।
अनुगमन समितिले तयार पारेको प्रतिवेदनको टिप्पणीलाई दिएर भुक्तानीको प्रक्रियामा रहेको कामलाई प्रभाव पार्ने, दवाव दिने गरी गलत कार्य भएको उनले उल्लेख गरेका छन् । तोडफोडबाट शाखाको टेबल, दराजका साथै केहि कागजातमा समेत क्षति पुगेको छ । नगरपालिकाको सेवा प्रवाहमा केहि समस्या भएमा वार्ता, गुनासो, कानूनी प्रक्रिया मार्फत समाधन गर्नुको साटो कार्यालय नै तोडफोड गर्नु अराजक हर्कत भएकोले संलग्न व्यक्ति उपर कारबाहिको माग गरिएको छ ।
कर्मचारीले बिज्ञप्ती प्रकाशन गरेर कार्यालयमा काम गर्ने सुरक्षित वातावरणको माग गरेका छन् । उनीहरुले सुरक्षित रुपमा काम गर्ने वातावरण नभएकोले नगरपालिका मातहतका सम्पूर्ण शाखा, फाँट, ईकाई, वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा स्थगत भएको समेत जनाएका छन् ।

नेपालीरैबार । २०८१ माघ २९, मंगलवार