
जाजरकोट । भूकम्प गएको १५ महिनासम्म पनि विद्यालय भवन नबन्दा एक विद्यालयले अझै पनि बालबालिकालाई त्रिपालमुनि पढाइरहेको छ । छेडागाड नगरपालिका–७, टीकाचौरस्थित भानुभक्त आधारभूत विद्यालयका भवन अहिलेसम्म पनि नबन्दा दयनीय अवस्थामा पठनपाठन सञ्चालन गरिँदै आएको छ ।
गत वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रविन्दु भई गएको भूकम्पले सो विद्यालयको दुईतले पक्की र कच्ची गरी दुई वटा विद्यालय भवन भत्किएपछि बालबालिका त्रिपालमुनि पढिरहेका हुन् । भूकम्प गएको लामो समय विद्यालयको भवन निर्माणका लागि सरकारले बेवास्ता गर्दा बालबालिकालाई पठनपाठनमा समस्या भएको हो ।
विसं २०३४ मा एक रोपनी जग्गामा कच्ची भवन निर्माण गरी प्राथमिक तह सञ्चालन गरिएको थियो । कक्षा १ देखि ८ सम्म पठनपाठन हुने सो विद्यालयमा अहिले पनि त्रिपालमुनि पठनपाठन भइरहेको छ । विद्यालयका प्रधानाध्यापक गणेशबहादुर नेपाली बादीले भूकम्पले भवन भत्किएपछि त्रिपालमुनि विद्यालय सञ्चालन गर्नु परेको बताए ।
उनले लामो समयसम्म सरोकारवाला निकायले ध्यान नदिँदा त्रिपालको ओतमा पठनपाठन भइरहेको जनाए । विद्यालय भत्किएपछि सोही स्थानमा त्रिपाल टाँगेर विद्यालय सञ्चालन गर्न समस्या भएपछि विद्यालयका सहयोगी पदमबहादुर बुढामगरले गाउँमै तीन रोपनी जग्गा चन्दा दिएपछि सोही स्थानमा त्रिपाल टाँगेर विद्यालय सञ्चालन भइरहेको छ ।
भूकम्प गएको डेढ वर्ष बित्न लाग्दा पनि भवन निर्माणमा सरोकारवाला निकायको बेवास्ताका कारण लेकाली भेगमा चिसो मौसममा आगो तापेर, ओढ्ने ओढेर बालबालिका नियमित विद्यालय आउने गरेका छन् । कक्षा १ देखि ८ सम्म ११७ जना बालबालिका अध्ययनरत छन् । दुई जना स्थायी, एक जना नगर अनुदान, एक जना निमावि राहत र दुई जना निजी स्रोत गरी छ जना शिक्षकले पढाइरहेका प्रधानाध्यापक बादीले जानकारी दिए ।
भूकम्पपछि नगरपालिकाले दिएको त्रिपाल र दातृनिकायले दिएका टेन्ट घामपानीले च्यातिएपछि बस्न नमिल्ने भएका छन् । प्रअ बादीका अनुसार सरकारले विद्यालय भवन निर्माणका लागि वितरण गर्दै आएको अनुदान रकम आवश्यकताका आधारमा वितरण नगर्दा दुर्गम गाउँबस्तीका बालबालिका अध्ययन गर्ने भवन निर्माण हुन सकेका छैनन् ।
जाजरकोट सदमुकाम खलङ्गाबाट एक दिनको पैदल दुरीमा रहेको टीकाचौरमा गरिब, दलित तथा जनजातिको बाहुल्य रहेको छ । विद्यालय भवन नभएपछि हावाहुरी चल्दा र पानी पर्दा पढाइको त कुरा छोडौँ, ओत लाग्ने ठाउँसमेत नहुँदा शिक्षक, विद्यार्थी घरतिर दौडिनुपर्ने बादीले बताए । उनले स्थानीय पालिकालाई विद्यालयको अनुगमन गरी सहयोग गर्न आग्रह गरेको जानकारी दिए ।

नेपालीरैबार । २०८१ माघ २९, मंगलवार