कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि सुरु

सुर्खेत । कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ । ऋति फाउण्डेसनद्वारा आयोजित उत्सव आजदेखि तीन दिनसम्म सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुनेछ । कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौँ संस्करण २०८१ का संयोजक कमल लम्सालले विचारहरुको मन्थनबाट कर्णालीको सम्भावना र भविष्य खोज्ने थलोका रुपमा उत्सव मनाउन थालिएको बताए ।

कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा नीति निर्माता एवं कार्यान्वयनकर्ताको ध्यानाकर्षणमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको दाबी गरे ।

राष्ट्रिय योजना आयोगका पूर्व सचिव तथा कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ संरक्षक केवलप्रसाद भण्डारीले विसं २०७६ देखि उत्सवले कर्णालीमा सामाजिक संवाद सुरु गरेको बताए ।

त्यस्तै, उत्सवमा कर्णाली चिनाउन विशेष योगदान गर्ने गोविन्द नेपाली (रङ्गकर्मी), प्रवासकुमार शाक्य रक्तदान अभियान्ता र दिपा राना (सहकारी अभियान्ता) लाई पैकेलो (नायक÷नायिकाका) रुपमा सम्मान गरिने आयोजक समितिका सम्पर्क व्यक्ति माधवप्रसाद चौलागाईले जानकारी दिए ।

उनका अनुसार आज पहिलो दिन राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुती), भोलि प्राडा जीवेन्द्रदेव गिरी र पर्सि राजनीतिक विश्लेषक हरि शर्माले क्रमशः मान्ठ र मईडो, कणालीको बोली, लोकतन्त्र र लोकमन्त्रका विषयमा विद्वत प्रवचन दिनेछन् ।

तपाईको प्रतिक्रिया