
तस्बिर :रजनी योगी
सुर्खेत । कार्यान्वयन भइरहेका सडकमा कर्णाली प्रदेश सरकारले मोटरेबल पुल निर्माण गर्न लागेको छ । आवश्यक बजेट विनियोजन गरेर सडक पुल निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सडक पुल निर्माण गर्न लागेको प्रदेश सरकारले जनाएको छ ।
कार्यान्वयन भइरहेका प्रदेशस्तरीय सडकमा आवश्यकता अनुसार सडक पुल निर्माण गर्न लागिएको जनाइएको छ । पुल निर्माणका लागि यो वर्ष ६८ करोड ९८ लाख रुपियाँ बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । आवश्यकताका आधारमा मोटरेबल पुल निर्माण गरिने छ । कतिपय सडक बनिसके पनि पुल निर्माण नहुँदा आवागमनमा समस्या हुने गरेको छ ।
आवश्यकताका आधारमा प्रदेश सरकारले पुल निर्माण गरिदिन लागेको हो । आवश्यक देखिएका स्थानमा पुल निर्माण गरिने भौतिक मन्त्रालयले जनाएको छ । यो वर्ष १३ वटा मोटरेबल पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार आवश्कयताका आधारमा छनोट भएर आएका १३ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको हो । अघिल्ला आर्थिक वर्षहरूमा सम्झौता भएका पुल निर्माण भइरहेका छन् । यो वर्ष माग भएर आएका नयाँ १३ वटा पुल निर्माण गर्न लागिएको हो ।
९० वटा झोलुङ्गे पुल निर्माण गरिने
यसै गरी चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन योजना रहेको र कतिपय अहिले थप भएका पुल रहेको प्रदेश सरकारले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमितै हुने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । जस अनुसार यो वर्ष ९० वटा नयाँ पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । भौगोलिक रूपले विकट र दुर्गम स्थानका जनताको यातायात सेवाको पहुँचमा सहजता एवं सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । सङ्घ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाइ दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।
चालु आर्थिक वर्षमा पुल निर्माणका लागि प्रदेश सरकारले २० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यो वर्ष ४२ वटा नयाँ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि यो वर्ष २० करोड ५० लाख बजेट विनियोजन गरिएको छ । अहिलेसम्म कम्तीमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।
सरकारले बजेटको स्रोत सुनिश्चित गरेर मात्र पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरेको छ । सोही नीति अनुरूप धमाधम बजेटको स्रोत सुनिश्चितता गरेर काम अघि बढाइएको हो । यो वर्ष मात्र प्रदेश सरकारले अधिकांश पूर्वाधार निर्माणका काम बजेटको स्रोत सुनिश्चित गरेर मात्र अघि बढाएको छ । बजेटको स्रोत सुनिश्चितता गरेर टेन्डर प्रक्रिया अघि बढाइएको हो । रासस

नेपालीरैबार । २०८१ फाल्गुन ५, सोमबार