
सुर्खेत । आमाछोरीले सुर्खेत बहुमुखी क्याम्पसलाई एक करोड रुपैयाँ सहयोग गरेका छन् । आमा देउकली शाही र छोरी कमला मल्लले त्रिभुवन विश्वविद्यालयको आंगिक कलेज सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगरलाई एक करोड बढी रकम सहयोग गरेका हुन् । आमाले एक लाख र छोरीले एक करोड दान दिएको क्याम्पस प्रमुख माधव खनालले जानकारी दिए ।
उनका अनुसार आमाछोरीले १ करोड १ लाख १ हजार १११ रुपैयाँ दिएकोमा ७८ लाखको भवन र २५ लाख १ हजारको अक्षयकोष स्थापना गरिएको छ । कमला मल्लले २५ लाखको भीम-कमला अक्षयकोष र देउकला शाहीले आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा पारेर एक लाख रकमको देउकला शाही महिला छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोषबाट ७२ जना विद्यार्थीलाई जनही ६ हजारको दरले छात्तवृत्ति वितरण गरिएको उनले बताए । छात्रवृत्ति वितरण कार्यक्रममा आमाछोरीलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दोसल्ला र कदर पत्रले सम्मान गरेका थिए । दैलेखको ठाँटीकाँध गाउँपालिका घर भएका उनीहरू हाल नेपालगञ्जमा बस्दै आएका छन् ।

नेपालीरैबार । २०८१ फाल्गुन १३, मंगलवार