
सुर्खेत । सरकारी सेवासुविधा तथा विकास नभएको भन्दै कर्णालीमा एक वर्षमा चार हजारभन्दा बढीले बसाइँसराइ गरेका छन् । खानेपानी, शिक्षा, वातावरणलगायत अत्यावश्यकीय सेवासुविधाको अभाव भएपछि त्यसमा सहज पहुँचको आसमा चार हजार ४३७ जनाले एक जिल्लाबाट अर्को जिल्लामा बसाइँसराइ गरेका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले सन् २०२४ मा गरेको सर्भेक्षण अनुसार नेपालमा विभिन्न जिल्लाबाट बसाइँ सर्नेको सङ्ख्या एक लाख ५० हजार ८४५ जना रहेकोमा कर्णाली प्रदेशमा चार हजार ४३७ जनाले बसाइँसराइ गरेका छन् ।
बसाइँसराइ गर्ने प्रमुख कारणमा हिमाल र पहाडबाट तराईतिर वा प्रदेश राजधानीतिर झरेको पाइएको इन्सेक कर्णाली प्रदेशले जनाएको छ । खाद्यान्न अभाव, विकास र सेवासुविधाको चाहना, सन्तानको उज्ज्वल भविष्यको रुचिले गर्दा पहाडबाट तराई र सदरमुकामतिर बसाइँ सर्ने क्रम बढेको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए । कर्णाली प्रदेशमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट जिल्लामा बसाइँसराइ बढी भएको छ । इन्सेकको तथ्याङ्क अनुसार सुर्खेतमा एक हजार २४०, दैलेखमा एक हजार, सल्यानमा ७१६, जाजरकोटमा ५१०, कालीकोटमा २९३, रुकुमपश्चिममा २८४, जुम्लामा २३९, मुगुमा ११८, हुम्लामा २२ र डोल्पामा १५ जनाले बसाइँसराइ गरेका छन् । उचित शिक्षा, खाद्यान्नबाट वञ्चित भएपछि थाततलो छोडेर बसाइँ सर्नुपर्ने बाध्यता कर्णालीमा रहेको संयोजक सुवेदीले बताए । उनका अनुसार इन्सेकले यस वर्षदेखि पहिलो पटक बसाइँसराइलगायतलाई पनि वातावरणीय अधिकारमा राखेर सर्भेक्षण गरेको थियो । यसरी बसाइँ सर्नु पनि मानव अधिकारको उल्लङ्घन भएको उनको भनाइ छ । वातावरणीय अधिकारमा बसाइँसराइ, वायु प्रदूषण, खानेपानी, सार्वजनिक शौचालय जस्ता विषय उल्लेख छन् । इन्सेक कर्णाली प्रदेश संयोजक सुवेदीले झन्डै आधा जनसङ्ख्या खानेपानीको पहुँचको अभावमा रहेको उल्लेख गरे ।
उता पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को रेक्चामा पाँच वर्षको अवधिमा करिब तीन दर्जनभन्दा बढी घरपरिवार खानेपानीको अभावमा अन्य पालिका तथा सदरमुकामतिर बसाइँ सरेका छन् । त्यहाँ रहेको इनारमा गर्मीयाम लागेपछि पालो लगाएर दैनिक पाँचदेखि १० लिटर मात्र पानी लैजाने गरिएको छ । अग्लो स्थानमा बस्ती भएको र पानीको स्रोत नहुँदा यसरी पालो लगाएर पानी लिनुपर्ने बाध्यता रहेको रेक्चाका स्थानीय तपेन्द्र क्षेत्री बताए । उनका अनुसार पानीको दुःखका कारण तीन दर्जनभन्दा बढी घरपरिवार अन्यत्रै बसाइँ सरिसकेका छन् ।

नेपालीरैबार । २०८१ फाल्गुन २०, मंगलवार