
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जीगाउँका स्थानीय स्थायीरूपमा बसाइँ सर्न मान्दैनन् ।
हल्जी गाउँका ८४ वर्षका पुरुष छिरिङनुर्ब तामाङले हल्जी थुक्तेन रिन्छिलिङ गुम्बाको डरले स्थानीय स्थायी रूपमा अन्यत्र बसाइँसराइ गर्न डर मान्ने गरेको बताए । उक्त गुम्बाकै डरले हालसम्म लिमीका तीन गाउँमध्ये घना बस्ती भएको गाउँका रूपमा हल्जीगाउँ चिनिँदै आएको उनले बताए। उक्त गुम्बा एक हजार दुई सय वर्ष पुरानो भएका कारण यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व रहेका कारण स्थानीय डर मानेर नै घर छाड्न नमान्ने उनको भनाइ छ । व्यापार व्यवसाय तथा अन्य कामका सिलसिलाले बाहिर गए पनि गाउँ फर्कनुपर्ने बाध्यता स्थानीयमा रहेको छ ।
लिमीको पुरानो, धार्मिक र ऐतिहासिक गुम्बाको डरले हल्जीगाउँका स्थानीय बसाइँसराइ गर्न डराउने गरेका हुन् । घरपरिवारमा शान्ति नहुने, बालबच्चाको शिक्षादीक्षा रोकिने, आँटेको र सञ्चालन भइरहेको व्यवसाय व्यापारमा असफलता भोग्नुपर्ने डरले स्थानीय अन्यत्र बसाइँसराइ गर्न डराउने गरेको बताइन्छ ।
हल्जीगाउँकी ज्येष्ठ नागरिक ८७ वर्षीय मेन्डोक लामु तामाङले गुम्बाका कारण गाउँ छाडेर बाहिर गए राम्रो नहुने मान्यताले कोही पनि जान नसक्ने बताए । गाउँ छाडेर काठमाडौँ पुगेका एक जना हाल पारिवारिक समस्यामा रहेका छन् । त्यसैले जस्तो समस्या भए पनि गाउँमा बस्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ । गाउँ छाडेर जानेको सङ्ख्या असाध्यै कम रहेको उनले बताए। त्यही भएर जो कोही पनि हल्जीगाउँ छाडेर अन्यत्र जान तयार हुँदैनन् । लिमीका तीन गाउँमध्ये तीलबाट ६६ घरधुरीमध्ये हाल २४ घरधुरी मात्र गाउँमा छन् । बाँकी सबैले गाउँ छोडेका छन् । अर्को जाङगाउँमा रहेका ४४ घरधुरीमध्ये हाल एउटा पनि घरधुरी छैन ।
लिमीका वडाध्यक्ष एवं हल्जीगाउँका स्थायी बासिन्दा पाल्जोर तामाङले सामाजिक र धार्मिक मान्यताका कारण हल्जीगाउँ छाड्न कोही पनि तयार नरहेको बताए । आर्थिक अवस्था राम्रो भएका काठमाडौँलगायतका सहरमा घर निर्माण गरेर बस्ने हैसियत राख्ने भए पनि गुम्बाका डरले गाउँ छाड्न नसक्ने अवस्था रहेको उनले बताए । उक्त गाउँमा ९१ परिवार हल्जीमा बसोबास गर्दै आएका छन् । सो गाउँको जनसङ्ख्या ४८८ रहेकोमा केही विद्यार्थी र व्यापारी गरी २० प्रतिशत मानिस मात्र गाउँबाहिरका काममा जाने गर्छन् ।
गाउँ छाडेर स्थायी रूपमा बाहिर जानेलाई गुम्बाले गर्दा राम्रो नहुने धार्मिक मान्यताका कारण गाउँ छाड्ने आँट कसैले गर्न नसक्ने उनले बताए । वर्षमा तीनरचार पटक काठमाडौँ पुग्ने वडाध्यक्ष तामाङ पनि गुम्बाकै डरका कारण गाउँ छाड्न नसक्ने स्थितिमा रहेको बताए । गुम्बामा पुराना र धेरै महत्वपूर्ण र महँगा मूर्ति र आकृति कोरिएका छन् । उक्त गुम्बा पुरानो भए पनि हल्जीवासी त्यसको पुनर्निर्माण गर्न डराइरहेका छन् । मुख्य गुम्बालाई बलियो बनाइराख्न काठको टेको लगाएर राखिएको छ ।

नेपालीरैबार । २०८१ फाल्गुन २२, बिहीबार