
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा सिकलसेल एनिमिया परीक्षण सेवा सुरु भएको छ । विशेष गरी थारु समुदायमा बढी देखिने रक्तअल्पता सम्बन्धी रोग सिकलसेल एनिमिया जाँच मेसिन जडान भएसँगै सेवा प्रारम्भ भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाले प्रदेश अस्पतालमा झण्डै १८ लाख बढीको मेसिन जडान गरिदिएपछि यो समस्या लिएर अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । बिहिबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले उक्त मेसिन अस्पतालाई हस्तारन्तरण गरेकी हुन् । अस्पताललाई मेसिन हस्तान्तरण गर्दै ढकालले वीरेन्द्रनगर उपत्यकाका आदिवासी थारु समुदायको स्वास्थ्य प्रवद्र्धन र संरक्षण गर्न नगरपालिकाले लिएको वार्षिक नीति अनुसार अघि बढेको बताइन । समयमै रोग पहिचान नुहने तथा परीक्षण गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पतालसँग समन्वय गरेर मेसिन उपलब्ध गराइएको उनले बताइन ।
आगामी दिनमा प्रदेश अस्पतालसँग समन्वय गरेर वार्षिकरुपमा समुदायस्तरमै पुगेर निशुल्क सिकलसेल स्कृनिङ्ग र उपचार अभियान थाल्ने नगर प्रमुख ढकालले बताइन । प्रदेश राजधानी भएसँगै बढेको वीरेन्द्रनगरको जनघनत्वलाई ध्यानमा राख्दै नगरपालिकाले विशेष स्वास्थ्य नीति अवलम्वन गर्दै आएको उनको दावी थियो । मेसिन ग्रहण गर्दै अस्पतालका निर्देशक डाक्टर केशर ढकालले नगरपालिकाको प्रयासले सिकलसेलकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
कर्णालीका नागरिकलाई गुणस्तरी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिवद्ध रहेको उल्लेख गर्दै निर्देशक ढकालले आगामी दिनमा नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए । उनका अनुसार प्रदेश अस्पतालमा जडान गरिएको मेसिनबाट थलासेमिया रोग पनि परीक्षण गर्न सकिन्छ ।
आणुवंशिक अर्थात् वंशाणुगत रुपमा एउटा पिँढीबाट अर्को पिँढीमा सर्ने रोग हो । आमा वा बुवा दुवैकोमा हुने रगत र जीनका गडबडीका कारण लाग्ने थलासेमिया रोग पत्ता लगाउन सहज हुने निर्देशक ढकालले बताए । प्रदेश अस्पतालमा जनेटिक परीक्षण सुरु गरेसँगै सिकलसेल र थलासेमिया जाँच सेवा गरिएको अस्पतालले जनाएको छ ।
के हो सिकलसेल ?
स्वास्थ्यकर्मीका अनुसार मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनिन्छ । वंशाणुगत हुने यो रोग नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी हुने भेरी अस्पताल नेपालगन्जका जनरल फिजिसियन डा. राजन पाण्डेले बताए । उनका अनुसार यो रोग जिनमा हुने खराबीले आमा–बुबाबाट छोराछोरीमा सर्ने गर्छ ।
सिकलसेलको लक्षण नदेखिएका व्यक्तिमा पनि सिकलसेलको जीन भेटिने हुँदा यसबाट जोगिन सम्भावित समुदायका सबै व्यक्तिमा परीक्षण गर्नुपर्ने उनले बताए । ‘आमाबाबु दुवैलाई सिकलसेल भएमा उनीहरूबाट जन्मिने सन्तानमा देखिने भएकाले भावी पुस्तालाई यसबाट बचाउन विवाह गर्ने जोडीलाई परामर्श दिनुपर्ने आवश्यकता देखिन्छ,’ डाक्टर पाण्डेले भने ।
सिकलसेल एनिमिया रोगको सम्भावित क्षेत्रका युवायुवतीको विवाहपूर्व नै उनीहरूमा यो रोग छ वा छैन एकिन गरी बिहाबारी गरेमा नयाँ पुस्तामा यो रोग स्थानान्तरण नहुने उनले बताए । सिकलसेल रोग लागेका दम्पतीले सन्तान जन्माउन चाहेमा चिकित्सकबाट सन्तान जन्माउन मिल्ने वा नमिल्ने तथा सन्तान जन्मिहाले के गर्ने बारे बेलैमा परामर्श लिनुपर्ने पाण्डेको भनाई छ ।
पाण्डेका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित लाटिकोइली, जर्बुटा, उत्तरगंगाका ४१ सिकलसेल सम्बन्धिका बिरामीले नेपालगन्जमा उपचार गराइरहेका छन् ।

नेपालीरैबार । २०८१ फाल्गुन २२, बिहीबार