
मुगु । कर्णाली प्रदेशको आर्थिक सहयोगमा र कृषि विकास कार्यालय मुगुको सहजिकरणमा अनुदानमा पाएका दर्जनौं कृषि फार्महरु अलपत्र परेका छन् । मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्ने भनि अनुदानमा पाएका कृषि फार्म एक वर्षपछि अलपत्र परेका हुन् ।
जिल्लाको खत्याड गाउँ पालिका, मुगुमकार्मारोङ गाउँपालिका, सोरु गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा आर्थिक वर्ष २०६६/ ०७७ देखि आर्थिक वर्ष ८०/०८१ सालसम्मका अनुदान पाएका तरकारी खेती फार्म, नर्सरी, बिउँवैङ्क, तरकारी सङ्कलन केन्द्र र सेलार स्टोरका दर्जनौं फार्महरु अहिले अलपत्र अवस्थामा भएको कृषि विकास कार्यालय मुगुले जानकारी गरेको छ।
कृषि विकास कार्यालय मुगुका अधिकृत गणेश अधिकारीका अनुसार जिल्लामा अनुदानमा आएका कृषि फार्महरु बाढीपहीरो र किसानले उत्पादनमा निरन्तरता नदिँदा जिल्लाका दर्जनौं कृषि फार्महरु अहिले अलपत्र अवस्थामा परेका हुन् । छायाँनाथ रारा नगरपालिका १० का किसान रतनलाल सेजुवालका अनुसार अनुदानमा आएका तरकारी फार्म अहिले झारपात र सिस्नोले भरिएको छ । सेलार स्टोरका भवन बाहेक केही छैन । राज्यले नक्कली किसानलाई अनुदान दिँदा यस्तो अवस्था सृजना भएको हो। पहुँचको भरमा ल्याएका अनुदानको दुरुपयोग गर्ने फार्मलाई राज्यले असुलउपर गर्नुपर्ने उनको सुझाव रहेको छ।
जिल्लामा करोडौं रुपियाँको अनुदान पाएका जिल्लाका फर्महरुले उत्पादनभन्दा अनुदानमुखी कार्यक्रमहरुले जिल्लाको बेरोजगारी कम गराउनुको सट्टा राज्यले करोडौं लगानी गरेका फर्महरु अहिले खण्डहरमा परिणत हुँदै आएको कृषकहरुको गुनासो छ ।

नेपालीरैबार । २०८१ फाल्गुन २३, शुक्रबार