खेलकुद मन्त्री चौधरी : १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुने छैन

सुर्खेत । आगामी जेठ ३ गतेदेखि कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिति मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गरिएको छ । आइतवार युवा तथा खेलकुद मन्त्री तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका सहअध्यक्ष यामलाल कँडेलले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सचिवालयको उद्घाटन गरेका हुन् ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जेठ ३ गतेदेखि तोकिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै बहानामा नसर्ने प्रतिवद्धता जनाए । उनले विगतमा दुई पटक मिति तोकेर पनि विभिन्न प्राविधिक कारणले प्रतियोगिता हुन नसकेपनि अहिले ती समस्याहरु समाधान गर्दै गएकोले जेठ ३ गतेदेखि प्रतियोगिता हुनेमा ढुक्क हुन आग्रह गरे । मन्त्री चौधरीले कर्णालीले उत्कृष्ट रंगशाला निर्माण गरेर खेल पर्यटनको विकास गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रतियोगिताको सचिवालय स्थापना भएपछि प्रतियोगिता हुँदैन कि भन्ने आशंकाको अन्त्य भएको बताए । उनले कर्णाली प्रदेश खेलकुद परिष सदस्य सचिवविहीन भएको हुँदा छिटो नियुक्त गर्न निर्देशनसमेत दिए । प्रतियोगिताका लागि आवश्यक पर्ने खदिर आदेशलगायतका टेण्डरहरु प्रक्रियामा गइसकेकोले अब तोकिएकै मितिमा प्रतियोगिता हुने र तयारीमा जुट्नसमेत उनले आग्रह गरे ।

जेठमा गर्मी हुने भएपनि त्यसको उचित व्यवस्थापना गरेर प्रतियोगिता हुने र जेठमा पनि नभए यो आर्थिक वर्षमा प्रतियोगिता हुन नसक्ने भएकोले कुनै बहाना र निहुँमा प्रतियोगिता नसर्ने खेलाडी तथा सरोकारपक्षलाई उनले अपिल गरे । कर्णालीका मुख्यमन्त्री एवं प्रतियोगिता मूल तयारी समितिका सहअध्यक्ष यामलाल कँडेलले प्रतियोगिता सचिवालय स्थापना गरिएपछि प्रतियोगिता नहुने आशंका अन्त्य भएको बताए । उनले मूल आयोजक समितिले अव प्रतियोगिताको मिति नसार्न आग्रह गर्दै उनले सवैले तोकिएकै मितिमा प्रतियोगिता हुन्छ भन्ने सन्देश फैलाउन आग्रह गरे । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अब खेलाडी र प्रशिक्षकहरुलाई प्रतियोगिताको तयारी गर्न आग्रह गर्नुभयोभने राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले प्रतियोगिताले कर्णालीमा खेल पर्यटनको विकास हुने जिकिर गरे ।

उनले प्रतियोगिताले खेलाडीहरुको खोजी, उत्पादन र संरक्षण गर्ने भएकोले अव तोकिएको मितिमा प्रतियोगिता हुने दावी गरे । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रतियोगितालाई व्यवस्थित गराउनका लागि स्थानीय तहले पूर्ण प्रयास गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले यही फागुन २० गते मूल आयोजक समितिको बैठकले फागुन २५ गते सुर्खेतमा सचिवालय स्थापना गर्ने निर्णय अनुसार आइतवार कर्णाली प्रदेश रंगशालामा सचिवालय स्थापना गरिएको बताए । उनले अब यही सचिवालयबाट प्रतियोगिताका प्रशासनिकलगायत कामहरु संचालन गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया