
हुम्ला । यहाँको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा स्थानीयले निर्माण गरेका हरेक काममा महिला सहभागिता ५० प्रतिशतभन्दा बढी हुने गरेको छ । लिमीका महिला पछि परेको भन्ने आवाज उठेपछि गाउँलेको सामूहिक निर्णयबाट महिला सहभागिता ५० प्रतिशतभन्दा बढी पु¥याउने योजना अनुसार कार्यान्वयनमा ल्याइएको हो ।
लिमीको हल्जीगाउँकी स्थानीय महिला पेमाडोल्मा तामाङले पछिल्लो समय हरेक क्षेत्रमा काम गर्ने क्रममा महिला सहभागिता बढ्दै गएको बताइन्। यसअघि लिमीमा महिला सार्वजनिक काम र निर्णय तहमा सहभागी नहुने कुरा सार्वजनिक भएपछि लिमीका पुरुष सामूहिक रूपमा बसेर महिलाको अर्थपूर्ण सहभागिता बढाउने निर्णय गरेका थिए । उनले गाउँलेको निर्णय कार्यान्वयनमा आउँदा हाल कुनै पनि काम सञ्चालन गर्नुअघि बस्ने बैठकमा महिला सहभागिता हुने र त्यो बैठकबाट आफ्ना कुरा महिलामैत्री बनाउने कार्य भइरहेको बताइन् । गाउँमा महिला र पुरुष सामूहिक रूपमा बैठक बसिसकेपछि पुनः गाउँभरका महिला एक ठाउँमा जम्मा पारेर सामूहिक छलफलमा भएको कुरा राख्ने गरिएको छ । यसअघि सार्वजनिक काममा महिलाले पुरुषको तुलनामा काम गर्न नसक्ने भन्दै सहभागिता नगराउने गरिएकोमा हाल त्यो सामाजिक चलन हटेर सबै किसिमका काममा महिला सहभागिता रहने गरेको उनले बताइन् । यस्ता काममा महिला सहभागिता ५० प्रतिशतभन्दा बढी रहने गरेको छ ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमीको स्थानीय खोलाटोलाको नियम महिलामैत्री बनाएर कार्यान्वयनमा आएको बताए । नेपालको संविधानले महिलाको आरक्षणको व्यवस्था ३३ प्रतिशत राखिए पनि लिमीवासीको आफ्नो नियम अनुसार ५० प्रतिशतभन्दा बढी राखेको दाबी गरे । लिमीमा जननिर्वाचित वडाका अध्यक्ष र सदस्य सरकारी कामका लागि भए पनि गाउँका अन्य काम गर्न गाउँले मिलेर आफ्नै समिति पनि गठन गर्ने गरिन्छ । वडाध्यक्ष तामाङले २०७९ सालको स्थानीय तहको निर्वाचनबाट आफूहरू निर्वाचित हुने बेलामै गाउँको काम गर्न सात सदस्यीय समिति गठन गरेको जानकारी दिए। गाउँमा हुने सबै प्रकारका काम त्यही समितिको समन्वयमा हुने गरेको उनको भनाइ छ । यो समितिको पदावधि पनि पाँचबर्से हुने, आफूसँगै विघटन हुने र नयाँ चयन हुने उनले बताए । दलित महिला सदस्य नभएका कारण लिमीको वडामा एक मात्र महिला सदस्य छन् । गाउँको आफ्नै समितिमा सात सदस्यीय समितिमा चार सदस्य छन् ।
स्थानीयस्तरमा सबै काम समितिकै निर्णयबाट हुन्छ । उक्त समितिमा महिलाका कुरा पनि स्पष्ट रूपमा राख्ने गरिएको समितिका अर्की सदस्य तन्जिन फुटी तामाङले बताइन् । पुरुषमा पनि महिलाप्रति गरिने हरेक कुरामा परिवर्तन आएको अनुभव हुन थालेको उनले बताइन् । चुलोचौको र खेतीकिसानीमा मात्र सीमित महिला अहिले भने गाउँ, गाउँपालिका केन्द्र र सदरमुकाम सिमकोटसम्म पनि सहजै पुग्ने गरेका उनको भनाइ छ ।

नेपालीरैबार । २०८१ फाल्गुन २७, मंगलवार