
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले सत्ता संचालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गरेका छन।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको कर्णाली प्रदेशस्तरिय दोश्रो अधिवेशनलाई संवोधन गर्दै मुख्यमन्त्री कडेलले व्यक्तिको कमजोरीलाई व्यवस्थामाथि थुपार्दा गणतन्त्रमाथि प्रश्न चिन्ह गर्नेले मौका पाएको बताए ।
मुख्यमन्त्री कडेलले सत्ता संचालनमा देखिएको कमजोरीलाई लिएर व्यवस्थामाथि प्रहार भइरहेको बताए । उनले भने, सत्ता संचालनमा केही कमजोरी होलान, नागरिकका अपेक्षित अपेक्षा पनि पुरा भएनन होला, ती सुधारेर जान सकिन्छ तर सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन ।
मुख्यमन्त्री कडेलले गणतन्त्रमाथिको प्रहार सत्ता संचालकमाथिको मात्रै प्रहारको रुपमा नबुझन पनि आग्रह गरे । अहिले व्यवस्थामाथिको प्रहारले सत्ता संचालकमाथि मात्रै देखिए पनि त्यसले नागरिक अधिकारमाथि नै धावा बोलेको उनको भनाई थियो ।
जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ उन्नत खालको लोकतन्त्र भएको बताउँदै मुख्यमन्त्री कडेलले फेरि रैति शासन व्यवस्था ल्याउछु भनेर लाग्नु मुर्खता भएको र त्यस्तो मुर्खता नगर्न उनले सुझाव दिए । उनले भने, जनताले लामो संघर्ष गरेर ल्याएको यो भन्दा अर्को उन्नत व्यवस्था छैन, कमजोरीहरु सच्चाउँ तर व्यवस्थमाथिको प्रहार बन्द गरौँ ।

नेपालीरैबार । २०८१ चैत्र २, शनिबार