परीक्षा स्थागित : विद्यार्थीले लेख्न सुरु गरेपछि अचानक निर्णय

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षा स्थागित गरेको छ । स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगित गरिएको हो । यसमा विश्वविद्यालयले चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।

एक विद्यार्थीका अनुसार बिहान साढे ६ बजे सुरु भएर प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेका थिए । हामीले लेख्न सुरु पनि गरिसकेको थियौँ ती विद्यार्थीले भने, एक्कासि परीक्षा स्थागित भएको भनियो । यद्यपि विश्वविद्यालयले परीक्षा स्थागित भएको विषयमा आधिकारिक, स्पष्ट जानकारी नगराएको उनले बताए। विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ। यद्यपि कारण भने खुलाइएको छैन । विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा शोभाखर कँडेलले स्ववियु चुनावकै कारण स्थागित भएको जवाफ दिए । उनले भने, उता स्ववियु चुनावको कार्यतालिका सार्वजनिक भइसक्यो, निर्वाचन समिति र परीक्षा व्यवस्थापन समितिको तालमेल नमिल्दा यस्तो भएको हो ।

यद्यपि विद्यार्थीलाई भने पूर्व जानकारी नगराएको बताइएको छ । एक विद्यार्थीले भने, यदि त्यसो हो भने पूर्व जानकारी गराउनुपर्ने, हामी त चुनावका लागि आएको हैन । भविष्यका लागि अध्ययन गर्न आएको हो । चुनावका नाममा विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया