मुख्यमन्त्री कँडेलको सुझाव : योजना माग्दा सक्रिय, बजेट आएपछि निष्क्रियता हटाउन आवश्यक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले योजना माग्दा सक्रिय हुने तर बजेट परेपछि निष्क्रिय हुने प्रवृत्ति हटाउन सुझाव दिएका छन् । उनले माग्ने बेलाजत्तिकै बजेट परेर योजना सम्पन्न नहुने बेलासम्म सक्रिय भएपछि मात्र विकास दीर्घकालीन र गुणस्तरीय हुने बताए ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरम सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र बिहीबार बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गर्दै उनले योजना सम्पन्न नभएसम्म सक्रिय हुन सबैलाई आग्रह गरे । विकास कुनै दलको मात्र नहुने भन्दै मुख्यमन्त्री कँडेलले एकल प्रयासले विकास गर्न नसकिने हुँदा यसमा हातेमालो गर्न जरुरी रहेको बताए । योजना परिसकेपछि पूरा नगरी अलपत्र पर्ने प्रवृत्ति भोगिरहेको हुँदा तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न पनि उनले निर्देशन दिए ।

आवश्यकताका आधारमा दिइएका योजना पूरा हुने र त्यसमा सबैको सक्रियता पनि रहने तर बजेटका लागि मात्रै दिइएका योजना अलपत्र पर्ने गरेको उनको भनाइ छ । सरकारको बजेट परिसकेका योजना दिगो र गुणस्तरीय हुनुपर्ने र त्यसका लागि सक्रियता र अनुगमन आवश्यक भएको मुख्यमन्त्री कँडेलले बताए । निर्माण गर्न लागिएको बहुउद्देश्यी कभर्ड हलले युवालाई कुलतबाट बचाई खेलकुदतर्फ आकर्षित गराउने, सामाजिक काममा सक्रिय गराउने उनको भनाइ छ । साथै निर्माण भएको संरचना संरक्षण गर्नतर्फ पनि उनले सुझाव दिए । चालु आर्थिक वर्षभित्रै भवनको काम सक्न सुझाव दिँदै उनले बिचमा आउने कठिनाइ समाधान गर्दै जाने प्रतिबद्धता जनाए ।

भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रा चालिसेले तोकिएको अवधिभित्रै भवन निर्माणको काम सम्पन्न गर्न सुझाव दिएभने नमुना युवा क्लबका अध्यक्ष गणेशमान खनालले भवनलाई तोकिएको समयभित्र सक्न निरन्तर पहल र खबरदारी गर्ने जानकारी दिए । ७८ फिट लम्बाइ र ५१ फिट चौडाइको सो बहुउद्देश्यीय कभर्ड हलका लागि कर्णाली प्रदेश सरकारले ७५ लाख बजेट विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया