
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ ।चीनसंगको सिमाना रहेको दुरदराजका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयमै बस्ने व्यवस्था गरिएको हो । लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवासीय सुविधा प्रदान गरिएको विद्यालयका शिक्षक विकल तामाङले बताए । यसअघि विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक मिलेर बिहान एक छाक खाना विद्यालयमै गर्ने व्यवस्था गरिँदै आएकोमा अब भने विद्यालयमै आवासीय सुविधा प्रदान गरिएको हो । उनले विद्यालयमा बालविकासदेखि कक्षा ७ सम्म २५ जना बालबालिका रहेको र ती विद्यार्थीमध्ये कक्षा १ देखि ७ सम्मका २० जना विद्यार्थीलाई विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा दिएर राख्ने कार्य भइरहेको बताए ।
यस वर्षबाट अभिभावकलाई समेत आर्थिक बोझ हटेको छ । यसका लागि आत्मीय संस्थाले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आवासीय सुविधा प्रदान गर्ने गरेको हो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गुणस्तरीय शिक्षा लिमीका बालबालिकालाई प्रदान गर्न सहयोगी संस्था लागिपरेको बताउँदै अब सम्पूर्ण रूपमा लिमी विद्यार्थीलाई शिक्षा आर्जन गर्ने कुरा निःशुल्क भएको बताएका छन् । हाल लिमीमै रहेकी संस्थाको राष्ट्रिय व्यवस्थापक एन्जिला थापाले दुर्गमका विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्याउनका लागि यो सुविधा प्रदान गरिएको बताए । यसका लागि होस्टेलमा लाग्ने सम्पूर्ण खर्च संस्थाले व्यवस्था गर्दै आएको छ । संस्थाले छ महिनादेखि यो सुविधा प्रदान गर्न सुरु गरेको उनले बताए ।
पहिले भान्साको काम अभिभावकले पालो लगाएर गर्ने गरेकामा हाल संस्थाले नै कर्मचारीको व्यवस्था गरेको छ । लिमीका विद्यार्थी लिमीमै गुणस्तरीय शिक्षाका लागि संस्थाले यो सहयोग उपलब्ध गराएको उनले बताए । विद्यालयलाई कक्षा १० सम्म पठनपाठन गराउने लक्ष्यका साथ संस्थाले सहयोग गरिरहेको र यो सहयोग लामै समय रहने उनले बताए ।

नेपालीरैबार । २०८१ चैत्र १३, बुधबार