रारा ताल भ्रमण मौसम सुरु

मुगु । यतिबेला नेपालको सबभन्दा ठुलो रारा ताल घुम्ने मौसम सुरु भएको छ । अन्य मौसमभन्दा चैतदेखि असार महिनासम्मको समयलाई रारा ताल भ्रमणका लागि उपयुक्त मानिन्छ ।

चितवनबाट रारा तालको अवलोकन गर्न आएका अमन पौडेलले यो समयमा राराको मौसम राम्रो पाएको बताए । “रारामा आकाशको रङसँगै छिन छिनमा तालको रङ बदलिँदो रहेछ, पानी कहिले निलो बन्छ, कहिले कालो, कहिले सेतो रङसँगै पानीको रङ फेरिँदो रहेछ,” नले भने । आकाशमा मडारिने बाँदलको छाया तालमा पर्दा र बिहान पानी स्थिर भएका बेला तालमा हिमालको छाया टल्किँदा रारा झनै मनमोहक भएको उनको अनुभव छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार रारा हेर्न आउने समय चैतदेखि असारसम्म उपयुक्त हुने जनाएको छ । कार्यालयका निमित्त अधिकृत महेश न्यौपानेका अनुसार चालु आर्थिक वर्षको चैत महिनाको पहिलो हप्तासम्म सात हजार ७७९ जना आन्तरिक र १८६ विदेशी पर्यटक रारा घुम्न आएका छन् । रारा ताल समुद्री सतहबाट दुई हजार ८८० मिटरको उचाइमा अवस्थित छ । १६७ मिटर गहिरो, ५.१ किमी लम्बाइ र २.७ किमी चौडाइमा फैलिएको छ । ताल किनारको लम्बाइ १४.६ किमी छ । हिँडेर तालको फन्को मार्न सात घण्टा लाग्छ । रारामा साइक्लिङ गर्न र घोडामा घुम्न मिल्छ तर रारामा पौडी खेल्न र नुहाउन पाइँदैन । ताल क्षेत्रमा रारा महादेव, छाब्रु महादेव, लगुडा मन्दिर छन् । तालको पूर्वतिर छायानाथ हिमाल पर्छ । छायानाथसँगै ऋणीमोक्ष चुलीमा वर्षैभरि हिउँ रहन्छ । स्थानीय रूपबहादुर मल्लले राराको पर्यटन प्रवर्धनमा तीन तहका सरकारले प्राथमिकतामा नपारेको आरोप लगाए । “नियमित उडान, भरपर्दो मोटरबाटो र सुविधायुक्त होटेल जस्ता पूर्वाधार छैनन्, राराको मार्केटिङ हुन सकेको छैन, रारामा योग र ध्यान केन्द्र बन्न सक्छ, त्यतापट्टि कसैको ध्यान गएको छैन,” उनले गुनासो गर्दै भने ।

पर्यटन व्यवसायी दुर्गा रावलले जुम्लाबाट रारा हुँदै खप्तड, डोल्पा र हुम्लासम्म पुग्ने पदमार्गमा पूर्वाधार विकास गरी मार्केटिङ गर्न सके लामो पदयात्रा गर्न चाहने पर्यटक पनि आकर्षित हुन सक्ने बताइन् । यसका लागि राराबाट छायानाथ, ऋणमोक्ष तीर्थस्थलसम्म पदमार्ग निर्माण हुन जरुरी रहेको उनले बताइन् । छायाँनाथ रारा नगरपालिकाले राराको पर्यटन प्रवर्धनका लागि विभिन्न कार्यक्रमको तयारी गरिरहेको नगरप्रमुख विष्णुकुमार भामले बताए । उनका अनुसार निकट भविष्यमा यहाँका युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले होटेल, पर्यटक पथप्रदर्शन र पर्यटन व्यवसायसँग सम्बन्धित अन्य तालिम दिने योजना नगरपालिकाको छ ।

तपाईको प्रतिक्रिया