मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्षपछि स्ववियु निर्वाचन, ९ विद्यार्थी संगठन दर्ता

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा ६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेको छ । चैत १८ गते हुने निर्वाचनका लागि ९ वटा विद्यार्थी सङ्घ/संगठन दर्ता भएका छन् ।

निर्वाचन समितिका संयोजक दीपेन्द्रबहादुर थापाका अनुसार नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट (नेविसंघ), नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा, मसाल, धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत, नेक्रविक्रम चन्द ‘विप्लव’ को नेकपा लगायतका दल निकट विद्यार्थी संगठन दर्ता भएका छन् । यद्यपि मुख्य प्रतिस्पर्धा तीन वटा संगठनबिच हुने आकलन गरिएको छ । एमाले, माओवादी र कांग्रेस निकट विद्यार्थी संगठनहरूले स्ववियु चुनावलाई प्रतिष्ठाको लडाइँ बनाउँदै आएका छन् । मध्यपश्चिम विश्वविद्यालयमा लामो समयपछि चुनाव हुन लागेकाले दलहरूले प्रतिष्ठाको विषय बनाएका हुन् । कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पस ठुला शैक्षिक संस्था हुन् । चैत ५ गते हुने भनिएको सुर्खेत बहुमुखी क्याम्पसको चुनाव स्थगित भएको छ । त्यसपछि मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनावमा सबै दल अग्रसर भएका छन् । दलका प्रदेशस्तरीय नेताहरू नै विश्वविद्यालयमा पुगेर मतदातालाई प्रभावित पार्न व्यस्त देखिन्छन् ।

४ हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । मध्यपश्चिम विश्वविद्यालयमा ०७३ साल भदौमा नेविसंघका झक्कबहादुर शाही स्ववियु सभापति निर्वाचित भएका थिए । स्ववियु कार्यसमितिको पदावधि साढे २ वर्षको हुने व्यवस्था छ तर तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले स्ववियु कार्यसमितिको कार्यकाल पूरा नहुँदै विघटन गरिदिएका थिए ।कोइरालाले विश्वविद्यालयका तत्कालीन रजिस्टार महेन्द्र कुमार मल्ललाई ०७५ मंसिरमा निलम्बन गरे । स्ववियुले निलम्बनको विरोध गरेपछि कोइरालाले स्ववियु नै विघटन गरिदिएका थिए । कोइरालाको पदावधि सकिएपछि ०७६ मा नन्दबहादुर सिंह उपकुलपति भएर आए । उनले स्ववियु निर्वाचन गराउनेतर्फ ध्यान दिएनन् ।

विद्यार्थी संगठनहरूको दबाबमा तीन वर्षपछि अर्थात् ०७९ चैत ३ गते स्ववियु निर्वाचन हुने मिति तय भयो तर मतदानको पाँच दिनअघि उच्च अदालत, सुर्खेतमा रिट परेपछि निर्वाचन स्थगित भयो । रिटमा उच्च अदालतले सुनुवाइ गर्दै निर्वाचन स्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यो बेला व्यवस्थापन सङ्कायका विद्यार्थीहरूले आफूहरू पनि निर्वाचनमा सहभागी हुन पाउनुपर्ने मागसहित रिट दायर गरेका थिए । विश्वविद्यालयका आङ्गिक क्याम्पसमा चुनाव भइसक्दा केन्द्रीय क्याम्पसमा भने मुद्दारमामिलाका कारण रोकिएको थियो । त्यसपछि गत भदौमा चुनाव गर्ने भनेर विद्यार्थी संगठनहरू दर्ता भइसकेका थिए । तर अन्तिम अवस्थामा आएर चुनाव स्थगित भयो ।

विज्ञान तथा प्रविधि सङ्कायका विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले निर्वाचन स्थगित गर्न आदेश गर्‍यो । त्यसपछि अदालतले नै चैत २० गतेभित्र चुनाव गरिसक्न भनेपछि अहिले विश्वविद्यालयमा चुनावको चहलपहल बढेको छ ।

तपाईको प्रतिक्रिया